काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी शुरु भएको छ ।
काठमाडौं महानगरपालिकाको शिक्षामा सीप कार्यक्रम अन्तर्गत काठमाडौंको नक्शालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो कलाकृतिहरुको प्रदर्शनी शुरु गरिएको हो । काठमाडौं महानगरपालिकाको संयोजन तथा सो प्रतिष्ठानको सहकार्यमा शुरु गरिएको सो प्रदर्शनीका शुक्रवार एक कार्यक्रमबीच प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभएको हो । शिक्षालाई सिपसँग जोडने काठमाडौं महानगरपालिकाको कार्यक्रम अन्तर्गत सो प्रदर्शनी शुरु गरिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो शिक्षामा सीप कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाले यो स्केचिङ एण्ड स्क्रप्चर अन्तर्गत तालिम अन्तर्गत यो प्रदर्शनी आयोजना गरिएको हो । खासगरी यो १५ हप्तासम्म प्रत्येक शुक्रवार काठमाडौं महानगरपालिकाको संयोजनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नौ वटा स्कुलका १९ वटा समूहमा हामीले यो कार्यक्रम सञ्चालन गरेका थियौं । र त्यो कार्यक्रममा विद्यार्थीहरुले बनाउनुभएका चित्रहरु, मूर्तिहरु प्रदर्शनीको आयोजना गरिएको हो । यो विशेष गरी शिक्षालाई सीपसँग जोडेर जाने सन्दर्भलाई आधार मानेर यो कार्यक्रम महानगरले ल्यायो । र यो महानगरले ल्याएको कार्यक्रममा हामीले सहकार्य गरेर शिक्षकहरु र कलाका अरु प्राविधिक पाटोहरुमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेको हो । र यसमा काठमाडौं महानगरपालिका भित्र रहेका सामूदायिक स्कुलहरुमध्ये हामीले यो वर्ष नौ वटा स्कुलमा १९ वटा समूहमा ५७० जना विद्यार्थीहरु यसमा सहभागी थिए । उहाँहरुले बनाउनुभएको चित्र र मूर्तिहरु लगभग साढे ११ सय चित्र र मूर्तिहरुको प्रदर्शनी रहेको छ । र, यो प्रदर्शनी आज २८ गतेबाट ३ दिनसम्म रहनेछ ।’
काठमाडौं महानगरपालिका भित्रका नौ वटा स्कुल सहभागी रहेको सो कलाकृति प्रदर्शनीमा करिव साढे ११ सय चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा राखिएका छन् । ३ दिनसम्म चल्ने सो प्रदर्शनीले शिक्षालाई सीपसँग जोडन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास गरिएको छ । —न्युज एजेन्सी नेपाल