काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सातामा दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गराएका थिए । अघिल्लो रिपोर्ट नेगेटिभ आए पनि उनले फेरि परीक्षण गराएका हुन् । उनको दोस्रो रिपोर्ट पनि नेगेटिभ नै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री देउवा सहभागी भएका थिए । प्रचण्डलाई कोरोना संक्रमण भएर अहिले होम आइसोलेसनमा छन् भने त्यस लगत्तै प्रधानमन्त्रीको कोरोना जाँच गरिएको थियो ।
एक साता भित्र नेपालमा कोरोना संक्रमण उच्च गतिमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको छ ।