सञ्चार मन्त्रालयको नीतिहिनता र कानूनहिनताको अवस्था अन्त्य गर्न चाहन्छुः मन्त्री गुरुङ

.

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले सञ्चार मन्त्रालयको नीतिहिनता र कानूनहिनताको अवस्था अन्त्य गर्न चाहेको बताउनुभएको छ ।

महेन्द्रकालीन ऐनको भरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चलेकाले आफूले त्यस्तो अवस्था अन्त्य गर्नका लागि सामयिक नीति र कानून निर्माणको प्रक्रियालाई तिब्रता दिने कामलाई अघि बढाएको मन्त्री गुरुङको भनाई थियो । आईतवार राष्ट्रपति भवन शितल निवासमा आयोजित प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिक प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयकको मस्यौदा गरी मन्त्रीपरिषदका पेश गर्न लागिएको पनि बताउनु भयो । सामाजिक सञ्जाल अत्यन्तै अनियन्त्रित ढंगले अघि बढेकाले त्यसको नियमन हुनेगरी सरकारले सो विधेयकको मस्यौदा तयार पारी मन्त्रीपरिषद्मा पेश गर्न लागेको सञ्चारमन्त्री गुरुङले स्पष्ट पार्नुभयो । उहाँले मिडिया काउन्सिल विधेयक छलफलको क्रममा रहेको उल्लेख गर्दै त्यसलाई पनि संसदको आगामी हिउँदे अधिवेशनबाट पारित गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो । साईबर क्राईम सम्बन्धि विधेयकको मस्यौदा पनि तयार पारेर मन्त्रीपरिषदमा पेश गर्ने तयारीमा रहेको मन्त्री गुरुङले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय यो नीतिहीनता, कानूनहीनताको अवस्थालाई तोडेर यसलाई व्यवस्थित गर्न चाहन्छ । त्यसकारण हामी अहिले सार्वजनिक सेवा प्रशारण ऐन  त हामीले पास गरिसकेका छौं । त्यही क्रममा अहिले मिडिया काउन्सिल विधेयक फेरी छलफलमा छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफलमा छ । एक दुई कुरामा अझै पनि छलफल हुन बाँकि छ । हिउँदे अधिवेशनमा त्यो पनि सम्पन्न गर्नेछौं । त्यसको प्रक्रिया हामी सक्नेछौं । अर्को जल्दोबल्दो विषय के छ भन्दाखेरी यो साईबर क्राईम हाम्रो यही क्षेत्रसँग बढि जोडिन्छ । त्यो साईबार क्राईमलाई कसरी नियन्त्रण गर्ने, कसरी व्यवस्थित गर्ने, नियमन गर्ने भन्ने कुरा त्यो सम्बन्धि विधेयक हामीले ड्राफ्ट गरिसकेका छौ । त्यो हामी क्याविनेटमा लिएर जाँदैछौं कानून र अर्थको सहमती पाएपछि । आज सोसल मिडिया जुन ढंगले चलिराखेको छ । अत्यन्तै अनियन्त्रित भन्छु मैले । स्वछन्द, त्यसलाई नियमन गर्ने कुनै न कुनै चाहियो हामीलाई । त्यसकारण सोसल मिडियालाई त्यसको प्रयोग कसरी गर्ने, त्यसको संचालन कसरी गर्ने, त्यसको व्यवस्थापन कसरी गर्ने, त्यसको नियमन कसरी गर्ने ? भनेर त्यो पनि हामी ड्राफ्ट तयार गरेर क्याविनेटमा लैजाने तयारीमा छौं हामी । साथै आम सञ्चार विधेयक ड्राफ्ट सकेर अघि बढाईसकेका छौं । दूर संचार ऐनलाई यथोचित व्यवस्थापन पनि गर्न लागेका छौं । ’

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जिम्मेवार भएर पत्रकारिता गर्न आम सञ्चार माध्यामलाई आग्रह गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल