काठमाडौं। नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर २ स्थित ड्रागन डेरीले धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको चिम्टेश्वर महादेव परिसरमा बृहत वनभोज कार्यक्रम सम्पन्र भएको छ । हिजो सम्पन्न भएको उक्त वनभोजमा २५० जनाको उपस्थिति रहेको ड्रागन डेरीका सञ्चालक बालकृष्ण ढुंगाना ‘दिपकले जानकारी दिए । जसमा नुवाकोटका किसान, राजनीतिक दलका नेता, उद्योगी व्यवसायी र कलाकारहरूले सहभागिता रहेको थियो । सञ्चालक ढुंगानाका अनुसार वनभोजले चिम्टेश्वर क्षेत्रको ऐतिहासिक र धार्मिक महत्त्वलाई सम्बोधन गर्दै पर्यटन प्रवर्धनमा योगदान पुर्याउने छ ।
चिम्टेश्वर महादेव क्षेत्र नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको ऐतिहासिक स्थल हो। यस क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले पाँच करोडको लागतमा भ्यु टावर निर्माण गरेको छ भने, नुवाकोटको बेलकोटगढी नगरपालिकाले २५ लाख रुपैयाँको लागतमा सिँढी निर्माण गरेको छ। यस क्षेत्रमा डेढ करोड रुपैयाँको लगानीमा सिमसार पोखरी र पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ।
चिम्टेश्वर क्षेत्रको व्यवस्थित विकासका लागि नगरपालिका र क्षेत्रीय समितिहरूले विभिन्न योजनाहरू अघि सारेका छन्। यी प्रयासहरूले चिम्टेश्वरको धार्मिक पर्यटनको प्रवर्धनमा मात्र नभई स्थानीय आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छन्। २०७६ सालमा स्थापना भएको ड्रागन डेरीले नुवाकोटको विभिन्न स्थानबाट दैनिक १५ सय लिटर दुघ र ७० किलो पनिर संकलन गर्दै आएको ड्रागन डेरीका सञ्चालक ढुंगानाले जानकारी दिए ।