काठमाडौं – संखुवासभाको मादी नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार मादीकाे ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहीबार बिहान मादी नगरपालिका -६ सातघुम्ती भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा १४ जनाले ज्यान गुमाएका हुन् ।
हालसम्म मृतकको पहिचान भएको छैन । दुर्घटनामा पाँच जनाको भने जिवितै उद्धार गरेर सदरमुकारकाे चैनपुर अस्पताल पठाइएकाे छ । गम्भीर घाइतेहरुलाई भने थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाउन हेलिकाेप्टरबाट उद्धारकाे प्रयास भइरहेको छ ।
बस भीरबाट करिब ३ सय मिटर तल खसेको थियाे । हाल घटनास्थलबाट १४ जनाको शव निकालेर पोस्टमार्टमका लागि पठाइएको र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।