नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरुले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाउनुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महशुल बुझाउनको लागि सरकारसँगको मिलेमतोमा बोरामा दोब्बर मूल्य वृद्धि गरेर उपभोक्तालाई मारमा उद्योगीहरुले पारेको बताउनु भयो । उहाँले सिमेन्ट उद्योगीहरुले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पु¥याएको उल्लेख गर्नुभयो । उहाँले सिमेन्टको मूल्य नियन्त्रणको लागि समितिले आवश्यक निर्देशन दिन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ सिमेन्ट उद्योगीहरुले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पु¥याएको छ । यो विषयमा समितिले आवश्यक निर्देशन गर्नुपर्छ । सिमेन्टमा व्रह्मुट भएकाले बैठकले निर्देशन गर्नुपर्छ । विद्युतको रकम बुझाउनको लागि सरकारको समेत मिलेमतोमा सिमेन्ट व्यवसायीहरुले मूल्यवृद्धि गरेका छन् । सिमेन्ट व्यवसायीहरुले उपभोक्ताहरुलाई मार पर्नेगरी दोब्बर मूल्य वृद्धि गरेका छन् । अब डण्डीको पनि १५ रुपैयाँसम्म बढाउन थालेका छन् ।’
नेपाली काँग्रेसका सांसद रमेश रिजालले सामाजिक सञ्जालमा विज्ञापन गरेको आधारमा व्यापार गर्न पाउने गरी विद्युत व्यापार विधेयक ल्याउन नहुने बताउनु भयो । उहाँले विद्युत विधेयकमा अनलाइन व्यापार गर्नको लागि व्यवसायीले अनलाइन पोटल दर्ता गरेको हुनुपर्ने बताउनु भयो । उहाँले अरुले दर्ता गरेको फेसबुक,टिकटक लगायत सामाजिक सञ्जालमा राखेर अनलाइन व्यापार गर्न नपाउने व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विद्युत व्यापार विधेयक साना तथा मझौला व्यवसायीहरुलाई जोगाउने गरी ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले साना र मझौला व्यवसायीहरुलाई जोगाउन सकिन भने सिन्डिकेट कायम रहने बताउनु भयो ।
उहाँले सिमेन्टको मूल्य वृद्धि नियन्त्रणको लागि तत्काल समितिले निर्देशन दिनुपर्ने बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले उपभोक्ताहरुलाई ठगी गर्ने काम गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल