निर्माण व्यवसायीहरुको समस्या पहिचान र दिर्घकालिन समाधानका लागी मेरो महासचिवमा उम्मेद्धारी हो : टंकप्रसाद चौलागाईँ

.

नेपाल निर्माण व्यवसायी महासंघ २३ औं साधारणसभा तथा १२ औं महाधिवेशनको जारी छ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले नेतृत्वका लागी महासंघमा आवद्ध प्रतिनिधिहरुले उम्मेद्धारी घोषणा गरिरहेका छन् । यसै क्रममा महासचिव पदमा आफ्नो उम्मेद्धारी घोषणा गरेका टंकप्रसाद चौलागाईँसँग गरिएको कुराकानी :

 

१२ औं महाधिवेशनमा तपाईको उम्मेद्धारी महासचिव पदमा किन ?
म २०६४ सालदेखि महासंघमा आवद्ध रहेको छु । मैले सुरुवाती दिनमा आमन्त्रित केन्द्रीय सदस्य, निर्वाचित केन्द्रिय सदस्य तथा तेस्रो कार्यकालमा नीतिगत महासचिवको जिम्मेवारीमा तीन वर्ष छ महिना काम गरेको छु । अहिले नेपालमा निर्माण व्यवसायीहरुले भोग्दै आएको समस्या जटिल किसिमले अगाडि बढिरहेको छ । मुलतः ऐन नियममै झन्झटिलो प्रक्रियाका कारण व्यवसायीहरु मारमा परिरहेका छन् । व्यवसायी मैत्री ऐन नहुनु, ऐनमा भएको अस्पष्टताका कारण व्यवसायीहरुले समस्या भोग्नु परिरहेको छ । यस्ता समस्याहरुलाई पूर्णकालिन समाधान गर्नका लागी नीति नियम परिर्वतन गर्न तथा व्यवसायी मैत्री नियम कानुन बनाउनका लागी मैले उम्मेद्धारी घोषणा गरेको हो ।

 

नेपालका हरेक साना र ठुला व्यवसायी बिच ठुलो अन्तर छ भनिन्छ ? निर्माण क्षेत्रमा यस्तो अवस्था छ कि छैन ?
मलाई साना र ठुला व्यवासायी भन्दा पनि ठुलो भोलममा काम गर्ने र सानो भोलममा काम गर्ने व्यवसायी भनेर छुट्याउनु पर्छ जस्तो लाग्छ । आ—आफ्नो हैसियत अनुसार सानो ठुलो कोही पनि हुदैन । कानुनतः भोलुमका हिसाबले जसले ठुलो काम गर्छ उसलाई ठुलो र सानो भोलुममा काम गर्ने व्यवसायीहरुलाई साना व्यवसायी भन्ने गरिन्छ । नेपालका निर्माण व्यवसायीहरु साना ठुला जे भए पनि उनिहरुको वृत्ती विकास गर्न जरुरी छ ।

 

नेपालमा व्यवसायीहरुले राम्रो काम गरेनन्, समयमा काम सकेनन् भन्ने आरोप लाग्ने गरेको छ ? एउटा विकास निर्माण आयोजनामा कुन कुन पक्षको सहभागिता रहन्छ ?
विकास निर्माणका कार्य सरकारसँग सम्बन्धित रहन्छ । यसमा तीन पक्ष हुन्छ । सरकार, प्राविधिक र निर्माण व्यवसायीको प्रत्यक्ष सहभागिता रहेको हुन्छ । समयमै निर्माण कार्य सम्पन्न गर्नका लागी सरकार, प्राविधिक र व्यवसायी जिम्मेवार हुन आवश्यक छ । यसमा पनि सरकारले गर्नु पर्ने दायित्व पुर्ण रुपमा निर्वाह गर्यो भने समयमै गुणस्तरीय निर्माण कार्य गर्न सकिन्छ ।

 

निर्माण क्षेत्रमा तपाईको व्यवसायिक यात्रा कहिलेबाट सुरु भयो ?
म निर्माण व्यवसायमा २०५१ सालदेखी लागेको हो । २०५४ सालदेखी निर्माण कम्पनी मार्फत प्रत्यक्ष रुपमा काम गर्दै आएको छु । नेपालमा निर्माण व्यवसायको क्षेत्र दिन प्रति दिन बढ्दै गइरहेको छ । निर्माण व्यवसायका विस्तार ६२÷६३ पछि सुरु भएको हो । एक दुई करोडमा सिमित रहेको ठेक्का अहिले अबौंमा हुन थालेको छ । मेरो निर्माण क्षेत्रमा कार्य अनुभवको कुरा गर्ने हो भने सडक, सिचाँई, खानेपानी, पुल, भवन आदीका निर्माण कार्य सफलता पुर्वक सम्पन्न गरेको छु ।

 

तपाईले १२ औ महाधिवेशनमा उम्मेद्धारी घोषणा गर्दै गर्दा राख्नु भएको एजेण्डाहरु के के हो ? प्रतिनिधिहरुले के का आधारमा तपाईलाई भोट हाल्ने ?
म कानुनको विधार्थी भएकाले मैले महासंघको नीति निर्माणको क्रममा महत्वपूर्ण भुमिका निर्वाह गरेको छु । व्यवसायी र सरकारी पक्षमा समन्वयकारी भुमिकाका साथै ७७ जिल्लामा छरिएर रहेका निर्माण व्यवसायीहरुसँगको मेरो सम्बन्ध नै मेरो महासचिव पदमा उम्मेद्धारी घोषणाको आधार हो । तत्कालिन रुपमा व्यवसायीहरुले भोगिरहेका समस्याहरुको पहिचान गर्ने र त्यसको दिर्घकालिन समाधानका लागी मेरो भुमिका महत्वपुर्ण रहन्छ ।