काठमाडौँ । उडान शैक्षिक केन्द्रको आयोजनामा बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा प्रशिक्षक मेक सुवेदीले निरन्तर प्रयासले सफलता हासिल गर्न सकिने भन्दै संस्थामा गएपछि नैतिकता र कटिबद्धताका साथ काम गर्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले संस्थामा प्रवेश गरेपछि जिम्मेवारीपूर्वक कार्य गर्न र सबै क्षेत्रमा योगदान दिन आवश्यक रहेको उल्लेख गरे । साथै, अन्य अध्ययनरत विद्यार्थीहरूलाई पनि निरन्तर परिश्रम गर्न प्रेरित गरे ।
संस्थाका प्रशिक्षक हिम खनालले विगत लामो समयदेखि संस्थासँग जोडिएको अनुभव सुनाउँदै उडान शैक्षिक केन्द्रले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले संस्थाले विभिन्न सरकारी तहमा विद्यार्थीहरूलाई सफलतापूर्वक प्रवेश गराएको उल्लेख गरे ।
बैंक क्षेत्रमा पछिल्लो समय जागिरप्रति निरुत्साह बढ्दै गएको चर्चा गर्दै उनले सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई अनुशासनपूर्वक कार्य गर्न सुझाव दिए । उनले संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई निरन्तर अध्ययन र परिश्रमबाट सफलता प्राप्त गर्न सकिने बताएका थिए । कार्यक्रमका अन्य प्रशिक्षकहरूले पनि निरन्तर प्रयास, कडा मेहनत र सकारात्मक सोचको महत्त्वमा जोड दिँदै विद्यार्थीहरूलाई सफलताको लागि प्रेरित गरेका थिए
उडान शैक्षिक केन्द्र, जसले देशभरका विद्यार्थीहरूलाई लक्षित गर्दै २०७६ सालमा स्थापना गरेको थियो, आजका दिनमा एक सफल र प्रतिष्ठित संस्थाका रूपमा पहिचान बनाइसकेको छ। आज आयोजित सम्मान कार्यक्रममा करिब ३० जना विद्यार्थीहरूले गण्डकी, कोशी, मधेश र बागमती प्रदेशबाट एकैपटक नेपाल सरकार अन्तर्गतका वाणिज्य बैंकमा नाम निकाल्न सफल भएका छन्। यी विद्यार्थीहरू उडान शैक्षिक केन्द्रका विद्यार्थीहरू हुन्, जसले आफ्नो कडा मेहनत र प्रयासबाट यो सफलता हासिल गरेका छन् ।




