रोशन रेग्मी
स्याङ्जा — भिरकोट नगरपालिका–५ सुन्दरबजारदेखि स्वरेक मैदानसम्म जाने बाटो कालोपत्रे गर्ने काम तीव्र गतिमा अगाडि बढेको छ।
उक्त सडक कालोपत्रे गर्नका लागि रु. ६४ लाख ६७ हजार ८७४ बजेट विनियोजन गरिएको छ, जसको निर्माण ठेक्का रोजिना कन्स्ट्रक्सनले लिएको हो। ठेक्का सम्झौता २०८१ पुस २६ गते भएको थियो भने २०८२ जेठ मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
स्थानीयबासीले यो सडक कालोपत्रे भएपछि बयरघारी बजारसम्म चारपाङ्ग्रे सवारी आवागमन सहज हुने विश्वास व्यक्त गरेका छन्। नेपालकै चर्चित प्याराग्लाइडिङ स्थलमध्ये एक स्वरेक मैदान पर्यटनका लागि आकर्षक गन्तव्य मानिन्छ। सडक स्तरोन्नतिले यहाँको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।