अरुलाई घोचपेच गरेर खुशी हुने र त्यसैमा गर्व गर्ने प्रवृत्ति बढ्योः खिलराज रेग्मी

.

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाजलाई अनुशासित र चरित्रवान बनाउन नैतिक शिक्षा र सिकाइ पद्धति सुधार गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अरुलाई घोचपेच गरेर खुशी हुने प्रवृत्ति बढेको बताउनु भयो । उहाँले मानवता, नैतिक शिक्षा जस्ता विषयमा पठनपाठन गराउन छोडिएको भन्दै मानवीय शत्चरित्र र आदर्शका गुण हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज सदाचार, नैतिकता र सदाचार जस्ता मानवीय सद्चरित्र जस्ता आदर्शका गुणहरु समाजमा ह्रासोन्मुख छन् । मानवता, नैतिकता र सद्चरित्र जस्ता विषयको सिकाई र शिक्षाबारे राम्रो गहन अध्ययन गराउनै छोडियो । मानिसमा आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति बढ्दै गएको छ । अनुशासन, विनयशिलता र वाणिमा शालीनता हराउँदै गएको छ । अहंकार, दम्भ र को भन्दा को कम भन्ने भावना बढेको पाइन्छ । अरुलाई घोचपेज गरेर खुशी हुने र त्यसैमा गर्व गर्ने प्रवृत्ति बढेको छ । त्यसैले व्यक्ति समाजलाई अनुशासित र चरित्रवान बनाउन नैतिक शिक्षा र सिकाइ पद्धति नै सुधारको आवश्यकता छ भन्ने मलाई लाग्दछ ।’

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई सर्वोदय सेवा संघले भैरव सदाचार राष्ट्रिय पुरस्कार २०८१ समर्पण गरेको थियो । –न्युज एजेन्सी नेपाल