एमसीसीको विरोध गर्ने भीम रावललाई प्रधानमन्त्री देउवाको कडा जवाफ

.

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई ‘राष्ट्रघाति’को संज्ञा दिने नेकपा एमालेका सांसद भीम रावललाई कडा जवाफ दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले कडा प्रतिक्रिया दिएका हुन्।

 

 

सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा देउवाले आफैं मन्त्री भएको क्याबिनेटले एमसीसी पास गर्न संसदमा ल्याएको तर, अहिले विरोध गरेको भन्दै देउवाले भने, ‘आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो? उसबेला दिमाग खुस्क्याथ्यो? त्यो बेला किन बिरोध नगरेको? राजीनामा गर्नुपर्दैन, लाज छैन?’

 

 

कडा रुपमा प्रस्तुत भएका देउवाले रावल रक्षामन्त्री भएको स्मरण गर्दै भने, ‘आफैं पास गर्ने, मन्त्री हुने, राजीनामा किन गर्नुभएन? के हेरेर बसेका थिएरु उनले राजिनामा गर्नुपर्थ्यो।’ रावलले अहिले विरोध गर्नुको तुक नभएको बताउँदै लाज मान्नुपर्ने देउवाको भनाइ थियो। रावल भने एमसीसी संसदबाट अनुमोदन भएपछि पनि सदनमा बोल्दै एमसीसीको कार्य प्रगतिबारे जनतालाई जानकारी दिनुपर्ने माग गरेका छन्।