काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयका अनुसार पिसिआर परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गर्दै मन्त्री आले हाल मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरेर होम आइसोलेसनमा बसेका छन् ।
उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । ‘माननीय मन्त्री ज्यू र मलाइ कोरोना भाइरसले संक्रमण गरेकोले मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरेको कुरा अबगत गराउन चाहान्छु। हामी दुबैलाई सामान्य लक्षण मात्र देखिएको छ। अरु स्वास्थ्य अबस्था सामान्य रहेको छ।’ रेग्मीले सामाजिक सञ्जालमा लेखेका छन् ।
केही दिनयता अनुगमनमा हिँडिरहेका मन्त्री आलेलाई कोरोना संक्रमण भएको हो । मन्त्री आलेले आइतबार मात्र विवादीत बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएर चलाइरहेको पशुपतिनाथ मन्दिर क्षेत्रको धर्मशाला र नारायणहिटी दरबारको अनुगमन गरेका थिए ।