विश्व पर्यटन बजारमा नेपालको उपस्थिति मजबुत बनाउने मन्त्री पाण्डेको प्रतिबद्धता

.

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचान विस्तार गर्न सरकार गम्भीर र निरन्तर प्रयासरत रहेको बताएका छन्। सञ्चार क्षेत्रलाई पर्यटन प्रवर्द्धनको मुख्य साझेदारका रूपमा मूल्याङ्कन गर्दै मन्त्री पाण्डेले दीर्घकालीन विकासका लागि सहकार्य अझै सुदृढ बनाइने बताए। नेपाल पर्यटन बोर्डले आयोजना गरेको पर्यटन क्षेत्रमा कार्यरत पत्रकारसँग विशेष अन्तरक्रिया कार्यक्रममा मन्त्री पाण्डेले नेपालको पर्यटन विकासमा सञ्चारकर्मीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकार गम्भीरताका साथ रणनीतिक योजना र नीतिहरू लागू गरिरहेको जानकारी दिए। “नेपाललाई विशिष्ट र प्रतिस्पर्धी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढिरहेका छौं,” उनले भने। कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले नेपालको पर्यटन क्षेत्रको हालको अवस्था, बजारको प्रवृत्ति, प्राथमिकतामा रहेका क्षेत्रहरू र आगामी प्रवर्द्धनात्मक योजनाहरूको बारेमा जानकारी गराए। उनले सेवा स्तरमा सुधार, गन्तव्य व्यवस्थापनको सुदृढीकरण र पर्यटन उत्पादनको विविधीकरणमा जोड दिएका छन् । बोर्डका निमित्त निर्देशक सुनिल शर्माले सञ्चार क्षेत्रले पर्यटन प्रवर्द्धनमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। साथै, पर्यटन क्षेत्र र सञ्चारकर्मीबीच खुला संवाद र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रममा ५० भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो ।