काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने स्पष्ट पार्नु भएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय पार्टी कमिटीले आवश्यक ठानेमा निर्वाचनमा सिटहरु एरेजमेन्ट हुन सक्ने सम्भावना पनि औंल्याउनु भयो । बिहीबार पार्टी केन्द्रिय कमिटी बैठक सम्पन्न भएलगत्तै न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले एमालेलाई निर्वाचनमा अरुको बैशाखीको जरुरी नभएको पनि पटकपटक दोहो¥याउनु भयो । सत्तारुढ गठबन्धनप्रति संकेत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो खुट्टामाथि भरोसा नहुनेहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने तर्क समेत गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘हामीले प्रष्टैसँग भनेका छौं–हामीहरु निर्वाचनलाई ध्यानमा राखेर कुनै गठबन्धन बनाउँदैनौं । हामी हाम्रो खुट्टामाथि विश्वास गर्छौ । जुन खुट्टाले भई टेकेको छ । भुईटेकेको खुट्टाहरुमाथि विश्वास छ । हामी त्यसैमा उभिएर निर्वाचनको प्रतिस्पर्धामा सामेल हुन्छौं । जसलाई आफ्नो खुट्टामाथि भरोसा छैन । विश्वास छैन । उसलाई मात्रै बैशाखी चाहिन्छ । हामी त्यो बैशाखीको पक्षमा छैनौं । दोस्रो कुरा के हो भन्दा निर्वाचनमा कतिपय ठाउँमा लोकल आवश्यक्ताको आधारमा सिट एरेजमेन्ट हुन सक्छ ।
त्यो अलग कुरा भयो । त्यो चाँही स्थानीय पार्टीले के ठान्छ ? स्थानीय साथीहरुले के ठान्नु हुन्छ ? त्यस आधारमा हुन्छ । तर केन्द्रबाट हामी कुनै गठबन्धन बनाउँदैनौं । गठबन्धन बन्दैन, गठबन्धन बनाउँदैनौं ।’