नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकार जनताको लागि बनेको नभई विचौलिया, भ्रष्टाचारी र तस्कारहरुका लागि बनेको व्यवहारतः पुष्टि भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुत्न नपाएका बिचौलिया र भ्रष्टाचारीहरु अहिले खुशीको साथ निदाइरहेको उहाँको टिप्पणी छ । सांसद शाहीले सरकार जनताको हित हुने नभई विचौलियाको हित हुने नीति निर्माण लागेको समेत आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले भनेका थियौँ,यो सरकार जनताको लागि बनेको सरकार होइन । यो सरकार गलत नियतका साथ बनेको सरकार चाहीँ हो । सरकार विचौलिया, भ्रष्टाचारी र तस्कारहरुका लागि बनेको सरकार चाहीँ हो । सरकारले उनीहरुकै हित गर्छ । आज यो कुरा व्यवहारतः पुष्टि भएको छ सभामुख महोदय । हिजो कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालमा निदाउन नपाएका दलाल र भ्रष्टाचारीहरु आज खुसिका साथ निदाइरहेका छन् ।’
सरकार सञ्चालकहरु नै देशलाई संकटको भुमरीतिर लैजाने कुचेष्टा गरिरहेको समेत सांसद शाहीको आरोप छ ।-न्युज एजेन्सी नेपाल