गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइनः देउवा

.

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पार्नुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । राष्ट्र बैंकभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाई भएको उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री ओली गभर्नर काँग्रेसलाई दिने पक्षमा रहेको समेत बताउनु भयो । उहाँले सत्ता गठबन्धमा समेत कुनै समस्या नभएको दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओली गठबन्धनभित्र कुनै समस्या सिर्जना नगरेको कारण गठबन्धमा समस्या नरेहको बताउनु भयो । उहाँले वर्तमान निर्वाचन प्रणालीमा कुनैपनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको समेत बताउनु भयो ।
उहाँले भन्न्ुभयो, ‘कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर बहुमत छैन । त्यसकारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ । अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धमा कुनैपनि समस्या क्रिएट गर्नुभएको नि छैन । गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैंकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या चाहीँ होइन । राष्ट्र बैंकभित्रै आएको समस्या हो । उहाँ गभर्नर काँग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।’

वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई समेत सँगै लैजाने नीतिअनुरुप अध्यादेशमार्फत ऐन निर्माण गरेको सभापति देउवाको दाबी छ । —न्युज एजेन्सी नेपाल