नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले विज्ञान र प्रविधिलाई आत्मसात गरेको बताउनुभएको छ ।
बुधवर बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको युग विज्ञान र प्रविधिको भएको बताउँदै विज्ञान र प्रविधिलाई आत्मसात् नगरी अब अगाडी बढ्न नसकिने बताउनु भयो । उहाँले विज्ञान र प्रविधिलाई आत्मसात् गरे मात्रै अगाडी बढ्न सकिने स्थितिमा नीति तथा कार्यक्रमले विज्ञान र प्रविधिलाई आत्मसात् गरेको भन्दै खुश्ी व्यक्त गर्नुभयो । सांसद रिजालले अब नेपाललाई जमिनको सार्वभौमसत्ताले मात्रै नभएर आकाशको स्पेसमा पनि सार्वभौमसत्ता आवश्यक पर्ने बताउनु भयो । उहाँले अब विज्ञान र टेक्नोलोजीतर्फ अगाडी नबढ्न नसके प्रगति हासिल गर्न नसकिने बताउँदै नीति तथा कार्यक्रममा उठाइएका कुराहरू हेर्दा ठूला देखिए पनि अहिलेको बाध्यता रहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको युग विज्ञान र प्रविधितर्फ पुगेको छ । विज्ञान र प्रविधिलाई आत्मसात् नगरी अब अगाडी बढ्न सकिँदैन । अहिलेको युगको उत्पादक शक्ति भनेको विज्ञान र प्रविधि हो । जसले यसलाई आत्मसात गर्छ, उ अगाडी बढ्छ । अहिलेको नीति तथा कार्यक्रमले विज्ञान र प्रविधिलाई आत्मसात गरेको छ । अब हामीलाई जमिनको सार्वभौमसत्ताले मात्रै पुग्दैन, अब आकाशको स्पेसको सार्वभौमसत्ताको पनि आवश्यक पर्छ । त्यहाँ पनि हाम्रो सम्प्रभुता चाहिने भयो । हेर्दा लाग्न सक्छ, ठूला ठूला कुरा किन उठाएको, तर बाध्यता हो । अब हामी विज्ञान र टेक्नोलोजीतर्फ अगाडी नबढी केही हुँदैन ।”
उहाँले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको दाबी गर्दै यसले एकताको सन्देश दिएको समेत बताउनु भयो । – न्युज एजेन्सी नेपाल