गण्डकी प्रदेशमा सार्वजनिक यातायात भाेलिदेखि बन्द हुने, सम्पूर्ण बसहरू ग्यारेजमा राख्न निर्देशन

.

 

पोखरा । गण्डकी प्रदेश सरकारद्वारा निजी सवारीसाधन (रातो नम्बर प्लेट भएका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे) लाई सार्वजनिक सवारीसरह सञ्चालन गर्ने निर्णयको विरोधमा सार्वजनिक यातायात क्षेत्रका विभिन्न संघसंस्थाहरु संयुक्त रुपमा आन्दोलनमा उत्रने भएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ, ट्रक तथा ढुवानी व्यवसायी महासंघ, साथै नेपालका विभिन्न यातायात मजदुर संगठनहरुको आह्वानमा “सार्वजनिक यातायात बचाउ संघर्ष समिति – २०८२” गठन गरिएको छ। यस समिति अन्तर्गत जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा र जेठ १९ गतेदेखि देशभर सार्वजनिक सवारी बन्दको कार्यक्रम घोषणा गरिएको छ।

यसै सन्दर्भमा पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.ले आफ्नो सम्पूर्ण सवारीसाधनहरू आन्दोलनमा सहयोग गर्न ग्यारेजमै राख्ने निर्णय गरेको छ। कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ कि मिति २०८२ जेठ १५ गतेका लागि निर्धारित नियमित सेवाहरू स्वेच्छिक रूपमा स्थगित गरिनेछ भने बाहिरबाट फर्किन आउने गाडीहरू जेठ १६ गते बिहानसम्ममा ग्यारेजमा राख्नुपर्नेछ।

कम्पनीका अनुसार संविधानको धारा ५७ को उपधारा ३ को (५) अनुसार संघीय कानुनसँग बाझिएको प्रदेशको निर्णय स्वतः खारेज हुने कानुनी प्रावधानलाई बेवास्ता गर्दै यस्तो निर्णय लागू गरिएकोमा उनीहरू बाध्य भएर आन्दोलन गर्नुपरेको जनाइएको छ।

सम्बन्धित सम्पूर्ण शेयर सदस्य, संचालक, कर्मचारी तथा बस स्टाफहरूलाई उक्त सूचनाको पालना गर्न सूचित गरिएको छ। साथै देशभरका क्यू कार्यालय, सेवा प्रदायक केन्द्रहरू, र सम्बन्धित निकायहरूलाई जानकारी गराउँदै सूचना कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरिएको छ।