रोशन रेग्मी
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद-उल-अज्हा) का अवसरमा नेपाल सरकारले जेठ २४ गते शनिबार सार्वजनिक बिदा दिने भएको छ।
गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मिति २०८१ साल फागुन १५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बकर ईदको दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको जानकारी गराएको छ। मुस्लिम आयोगबाट प्राप्त पत्रका आधारमा यस वर्ष बकर ईद २०८२ साल जेठ २४ गते शनिबार परेको हुँदा उक्त दिन बिदा रहने स्पष्ट गरिएको छ।
विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा बकर ईदको अवसरमा शुभकामना व्यक्त गरिएको छ। साथै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा पनि पर्वको सन्दर्भमा शुभकामना व्यक्त गर्दै धार्मिक सद्भाव र सामाजिक एकतामा जोड दिइएको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा नेपाली समाजको सांस्कृतिक विविधताको सम्मान गर्दै यस्ता पर्वहरूले पारस्परिक समझदारी र भाइचाराको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।