विद्यालय जाँदै गरेकी छात्राको हत्या प्रकरणमा दाजुबहिनी पक्राउ

.

काठमाडौं – उदयपुरको बेलका नगरपालिका-३ की कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्यामा संग्लन रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै सहपाठी १७ वर्षीया नाबालिका र १९ वर्षीय विनोद ढकाल रहेका छन् ।

 

 

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक सुनुवार र पक्राउ परेकी नाबालिकाको केहि समयदेखि मनमुटाव रहेको प्रहरीले जनाएको छ । सोही कारण नाबालिकाले काकाका छोरा विनोदसँग मिलेर हत्या गरेको खुलेको छ ।

 

 

मंगलबार बिहान तीनै जना ट्युशन पढ्न स्कुल जाने क्रममा बाटोमा विवाद हुँदा बियरको बोतल र ढुंगाले हानेर सुनुवारको  हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

 

 

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शव हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको थियो । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै विभत्स तरिकाले हत्या गरेपछि खोलामा फालेको अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

 

 

उनको शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ । घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि सजायको माग गरेको छ ।