काठमाडौं – सुर्खेतको भेरीगंगा नगरपालिकाकाे वडा नं. १२ मा निर्माण हुने छिन्चु वसपार्क आयोजना निर्माणका लागि भेरीगंगा नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ । सन्तुलित शहरी विकास आजको आवश्यकता भएसंगै नगर विकास कोषले बढी भन्दा बढी नगरपालिकाहरुलाई शहरी पूर्वाधार विकासमा वित्तिय तथा प्रविधिक सहायता प्रदान गर्ने लक्ष्य अनुरुप याे सम्झौता सम्पन्न गरेकाे छ ।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्द बीच रु. १३ कराेड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ । सम्झौता कार्यक्रममा नगरपलिकाका उपप्रमुख रेणु आचार्य (ढकाल) को समेत महत्वपूर्ण उपस्थिती रहेको थियो ।
यस “छिन्चु वसपार्क” आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. १८ करोड ५८ लाख २० हजारको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने भएकाे छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण हुने वसपार्कको यो आयोजना प्रदेशकै एक महत्वपूर्ण र नमूना आयोजनाको रुपमा हेरिएको छ । करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण हुने यस आयोजनाबाट हाल बजारमा अव्यवस्थिरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त वसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान दिनेछ ।
उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख एवं उपप्रमुख यस आयोजनालाई कर्णाली प्रदेशकै नमूना आयोजनाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै आयोजनाले कर्णाली प्रदेशवासीलाई व्यवस्थित शहरी सेवा सुविधा प्रवाह गर्ने बताए । आयोजना गुणस्तरीय रुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने विचार राख्दै आयोजनामा कोषको प्राविधिक सहयोगको समेत अपेक्षा राखे ।
ऋण सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले अत्यन्त महत्वपूर्ण स्थानमा बन्न लागेको वसपार्कले पूर्वाधारको मात्र विकास होइन उक्त क्षेत्रकै समष्टिगत आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आयोजना समयमै निर्माण सम्पन्न भई उक्त क्षेत्रको मुहार परिवर्तनका लागि महत्वपूर्ण हुने विचार राखे ।