सावित्रा बिना त्रिकोणात्मक सिरिज खेल्दै नेपालः युवा खेलाडीलाई अवसर

.

स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बिना नै नेपालले इण्डोनेसियामा हुने त्रिदेशीय महिला फुटबल प्रतियोगितामा खेल्ने तयारी गरेको छ ।
आगामी नोभेम्बर २६ देखि इण्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदैछ । स्टार   स्ट्राइकर सावित्राबिना नै नेपाली टोलीले आफूभन्दा बलियो चाइनिज ताइपेईसँगै इण्डोनियालाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीले तयारी अन्तिम चरणमा पु¥याउएको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेको प्रशिक्षणमा नेपाली टोलीले पछिल्लो दुई हप्तादेखि तयारी गरिरहेको छ । प्रशिक्षक न्यौपाने युवा खेलाडी मीना देउवा र पूर्णिमा राई जस्ता युवा खेलाडीलाई अवसर दिएका छन् । सावित्राको अनुपस्थितिमा युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने अवसर पनि हुनेछ । २७ सदस्यीय प्रारम्भिक टोलीबाट  प्रशिक्षक न्यौपानेले २३ सदस्य टोली छनोट गरेका छन् । त्यसमा सावित्राको पनि नाम समावेश छ । तर उनको स्थानमा अन्य खेलाडीले अवसर पाउन सक्नेछन् ।
नेपाल महिला राष्ट्रिय फुटबल टोली आगामी ट्राइ नेशन कप खेल्न आईतवार इण्डोनेशिया जाँदैछ । मुख्य प्रशिक्षक नविन न्यौपाने र खेलाडी रेनुका नगरकोटीले तयारी सन्तोषजनक रहेको र राम्रो नतिजाको अपेक्षा गरेको बताउनुभएको छ । प्रशिक्षक न्यौपानेकाअनुसार टोलीले यसअघि श्रीलंकामा भएको ट्राइ नेशन कप खेलेको थियो भने यसपटक इण्डोनेशियामा इण्डोनेशिया र चाइनिज ताइपेसँग प्रतिष्पर्धा गर्नेछ । तयारी स्वरूप तीन अभ्यास खेल खेलिएको थियो । जसमा इरानसँग पराजित भएपनि भारतलाई हराउन सफल भएको थियो । त्यसलगत्तै झापा गोल्डकपमा २२ जना खेलाडीलाई अवसर दिइएको र सबैको प्रदर्शन सन्तोषजनक रहेकाले सोही टोलीलाई निरन्तरता दिइएको न्यौपानेले बताउनु भयो ।
“यस्ता टुर्नामेन्टहरू जति धेरै भयो, खेलाडीहरू उति निखारिँदै जान्छन्। हाम्रो टार्गेट माथिल्लो स्तरको छ। दीर्घकालीन योजना बनाएर अघि बढेका छौँ,” प्रशिक्षक न्यौपानेले भन्नुभयो, “इण्डोनेशिया र चाइनिज ताइपे दुवै राम्रो लयमा छन्। टिमवर्क हाम्रो बलियो पक्ष हो। सकेसम्म राम्रो नतिजा ल्याउने प्रयास गर्छौं।”

यद्यपि, स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) घाइते भएकाले खेल्ने सम्भावना छैन । त्यस्तै गोलकिपर गीता राणा पनि घाइते रहेकाले नयाँ खेलाडीले अवसर पाउने प्रशिक्षक न्यौपानेले जानकारी दिनुभयो ।
खेलाडी रेनुका नगरकोटीले पनि तयारी समय पर्याप्त नभएको बताउँदै भारत भ्रमण र झापा गोल्डकपको लगत्तै इण्डोनेशिया जानुपरेको उल्लेख गर्नुभयो ।
“दुवै प्रतिद्वन्द्वी बलिया छन् । साम्बा नहुँदा टिमलाई केही घाटा त हुन्छ तर अन्य खेलाडीका लागि यो ठूलो अवसर हो,” नगरकोटीले भन्नुभयो, “अहिले पनि टिम राम्रो छ। घाइते खेलाडीहरू बढी भएपनि नयाँ बहिनीहरू राम्रो गर्दैछन्। सुधार गर्नुपर्ने ठाउँ धेरै छन्, तर हामी राम्रो खेल्नेछौँ।”

नेपालले इण्डोनेशिया र चाइनिज ताइपेसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । यो सिरिज नेपाली महिला फुटबलका लागि महत्वपूर्ण तयारी मानिएको छ । –न्युज एजेन्सी नेपाल