विराटनगर किङ्सको तेस्रो जित

.

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रेरित विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा तेस्रो जित निकालेको छ ।
कीर्तिपुरमा लेग स्पिनर सन्दीपको उत्कृष्ट बलिङमा विराटनगरले सोमवार जनकपुर बोल्ट्समाथि ९ रनको जित निकाल्दै जारी एनपिएलमा तेस्रो सफलता प्राप्त गरेको हो । सन्दीपको कप्तानीमा रहेको विराटनगर तेस्रो खेलसम्म अपराजित रहँदा डिफेन्डिङ च्याम्पियन जनकपुरले दोस्रो हार सामना ग¥यो । सन्दीपले चार ओभरमा चार विकेट लिँदै ११ रन मात्र खर्चिएर उत्कृष्ट बलिङ गरे । त्रिवि क्रिकेट मैदानमा विराटनगरले एक सय ३६ रनको सामान्य लक्ष्य दिएको थियो । तर जनकपुरले पूरै ओभरमा ९ विकेटको क्षतिमा एक सय २६ रन मात्र बनाउन सक्यो । मध्य क्रमका ब्याटर जान निकोल लोफ्टीले ४१ रन बनाए । यो नै सर्वाधिम ठूलो व्यक्तिगत स्कोर रह्यो । डेथ ओभरको पहिलो बलमा उनी नवौं विकेटका रूपमा आउट भए ।
यो विकेट पतनसँगै विराटनगरले खेलमा पूर्ण दबाब बनायो । जनकपुरलाई जितका लागि १५ रन आवश्यक हुँदा उनी आउट भएका हुन् । लोफ्टीले ३० बलमा चौका र एक छक्का प्रहार गरे । जनकपुरका ओपनरद्वय लाहिरु मिलन्थाले २३ रन र असिफ सेखले १४ रनमै आउट भए । त्यसपछि आएका कप्तान अनिल साह पनि ४ रनमै पभेलियन फर्किए । स्पिनरलाई मद्दत मिल्ने पिचमा विराटनगरले पनि त्यसको फाइदा लियो । १३.४ ओभरमा जनकपुर ७७÷५ को विकेटको अवस्थामा पुग्यो । तर, छैटौं विकेटका लागि लफ्टी र रूपेशबीच ३४ रनको साझेदारी बन्यो । यो नै सबैभन्दा ठूलो सहकार्य बन्यो । तर, रूपेश ८ रनमै आउट भए । तल्लो क्रमका ब्याटरले राम्रो साथ नदिँदा जनकपुरले हार व्यहो¥यो ।
मयन यादव ४, संगीत कुरे शुन्यमा र आदित्य महता १ रनमै आउट भए । विराटनगरको बलिङमा अर्का स्पिनर सूर्य तामाङले दुई तथा मर्चान्ड डे लाङ्गे र शुभम रन्जानेले समान एक विकेट लिँदै जित रोके । स्पिनरद्वय सूर्य र सन्दीपसँगै नरेन भट्टले पनि किफायती बलिङ गर्दै सामान्य लक्ष्य रक्षा गर्न मद्दत गरे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा एक सय ३५ रनको सामान्य योगफल बनायो । जनकपुरले पहिलोदेखि १६ओभरसम्म स्पिनर प्रयोग गर्दै दबाबमा बनायो ।
कुनै पनि ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन् र विराटनगर दबाबमा प¥यो । तर, मध्यक्रमका ब्याटर शुभम रञ्जानेले ३७ र बसिर अहमदले ३६ रनको योगदान दिए । यी दुईले चौथो विकेटका लागि ५२ रनको साझेदारी गर्दै इनिङ समाले । रूपेश सिंहले १८औं ओभरमा बसिरलाई बोल्ड गरे । ३५ बल खेलेका बसिरको इनिङमा तीन चौका मात्र थियो । यतिबेला विराटनगर १०७÷४ को कमजोर अवस्थामा थियो । किशोर महतोको १९औं ओभर महत्वपूर्ण रह्यो । यस ओभरमा रन्जानेले दुई चौका र एक छक्कासहित १५ रन जोडे । अन्तिम ओभरको पहिलो बलमा पनि रन्जानेले छक्का हिर्काए । तर, लगत्तै दोस्रो बलमा उनी रनआउट हुन पुगे ।
२९ बलमा उनले समान दुई चौका र छक्का प्रहार गरे । तेस्रो बलमा मर्चन्ड डे लाङ्गे शून्यमै रनआउट भए । यसपछि तीन बलमा विराटनगरले ५ रन मात्र जोडेपछि सामान्य योगफलमै सीमित भयो । दुवै रनआउट रूपेशले गरेका हुन् । जनकपुरको बलिङमा संगीत कोरे र रूपेशले समान दुई तथा आदित्य महताले एक विकेट लिए । चार ओभर फ्याकेका ललित राजवंशीले २१ रन मात्र दिएर किफायती बलिङ गरे । —न्युज एजेन्सी नेपाल