रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) २७ औं पोखरा सडक महोत्सवको निम्तो लिएर जनकपुरधाम पुगेको छ ।
महोत्सवको निम्तो दिन सात वटै प्रदेशमा पुग्ने रणनीतिअनुसार रेवान सोमवार मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेको हो । रेवानले सोमवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी पोखरामा हुन लागेको महोत्सवको बारेमा जानकारी गराएको छ । महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवा तालको किनार लेकसाइड क्षेत्रमा सञ्चालन हुने महोत्सवका संयोजक वसन्त गौतमले जानकारी दिनुभयो । ताल किनारको साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव हुने उहाँको भनाई छ । ‘सडक मै खाउ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवले खाना संस्कृति र संगितलाई प्रवद्र्धन गर्ने उहाँले बताउनु भयो । महोत्सवले पोखराको मात्रै नभई समग्र नेपालको पर्यटन र अर्थतन्त्रमा सहयोग गर्ने उहाँको भनाई छ । अंग्रेजी नयाँ वर्ष मनाउन भारत, थईल्याण्ड लगायतका देशमा जाने परम्परालाई तोडेर महोत्सवले पोखरालाई नयाँ गन्तव्यको रुपमा विकास गरेको उहाँले जानकारी दिनुभयो । महोत्सवमा निम्तो दिनको लागि आफूहरु जनकपुर आएको बताउँनुहुँदै उहाँले महोत्सवमा सहभागी हुनको लागि आग्रह समेत गर्नुभयो । महोत्सवमा स्थानीय उत्पादन, हस्तकला सामग्री, रैथाने मौलिक खानाको प्रर्दशनी हुनेछ । महोत्सवमा विविध जातजातिका सांस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको फुड फेस्टिभल, ख्यातिप्राप्त कलाकारहरूको लाइभ कन्सर्ट, लोक दोहोरी, फेवा तालमा बोट रेस, टग अफ वार, साथै पर्यटन प्रवद्र्धनसम्बन्धी टक शो र फोटो प्रदर्शनी समेत हुने उहाँले जानकारी दिनुभयो ।
अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्ने उद्देश्यले विगत २६ वर्षदेखि रेवानले महोत्सवको आयोजना गर्दै आएको उहाँले बताउनु भयो । – न्युज एजेन्सी नेपाल