काठमाडौं महानगरले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने, महिला नेतृत्वका अनुभव साटासाट गरिने

.

११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले महिला नेतृत्वका अनुभव, सिकाई र सङ्घर्षका विषयमा महिला विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभएको हो । फागुन २४ गते राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनु भयो । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको राष्ट्रिय नारा ‘महिला बालबालिकाका लागि अधिकार न्याय र कार्यसहितको अवसर’ तय भएको छ । यसै सन्दर्भमा महानगरले ‘पावर इन एक्सनः हर टाइम इज नाउ’ शिर्षकमा कार्यक्रम गर्न लागेको प्रवक्ता मानन्धरले बताउनु भयो । कार्यक्रमको उद्घाटन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुनेछ ।
कार्यक्रममा प्रशासन, कानून, समाज, उद्यम, उद्योग तथा वाणिज्य, नवप्रवर्तन र हक अधिकारका क्षेत्रमा नेतृत्व गरिरहेका महिलाहरूले आफ्ना अनुभव सुनाउने उहाँले बताउनु भयो । राज्य प्रणालीको उपल्लो ओहोदादेखि सामान्य जीवनयापनका पद्धतिसम्मका अनुभवहरू कार्यक्रममा समेटिने उहाँको भनाइ छ ।
कार्यक्रममा ‘एक वडा एक नमूना उद्यम’ कार्यक्रम अन्तर्गतका पौरखी महिलाहरूको प्रतिनिधित्वमूलक जीवन्त कला प्रदर्शनी गरिनेछ । नेपालको महिला आन्दोलन तथा अधिकारका सङ्घर्षका उदाहरणीय महिला नेतृत्वहरूका विषयमा विवरण प्रदर्शन गरिनुका साथै क्युआर कोडमा आधारित प्रश्नावलीमार्फत सहभागीहरूबाट पृष्ठपोषण समेत सङ्कलन गरिने महानगरले जनाएको छ ।
लैङ्गिक समानता र न्यायका लागि ६ वटा कानून
पत्रकार सम्मेलनमा प्रवक्ता मानन्धरले लैङ्गिकमैत्री शहरी व्यवस्थापन र हिंसा न्युनिकरणका लागि महानगरले हालसम्म ६ वटा स्थानीय कानून तर्जुमा गरी राजपत्रमा प्रकाशन गरिसकेको जानकारी दिनुभयो । जसमा विवाद निरूपण कार्यविधि २०७५, मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८, वडा महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७८, मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका २०७९ र कानुन सहायता कार्यविधि २०८० रहेका छन् ।
यी कानून कार्यान्वयन गर्न न्यायिक समिति, वडा महिला सञ्जाल, मेलमिलाप कक्ष लगायतका संयन्त्र निर्माण गरिएका छन् । सबै वडामा मेलमिलाप कक्ष र महिला सञ्जाल गठन गरी केन्द्र र वडास्तरमा न्यायिक सहजकर्ता तथा विज्ञ कानून व्यवसायीमार्फत निःशुल्क कानूनी सहायता प्रदान गरिँदै आएको प्रवक्ता मानन्धरले बताउनु भया ।
पत्रकार सम्मेलनका क्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यक्रमबाट प्राप्त हुने सुझावले महानगरपालिकाको आगामी नीति, योजना तथा कार्यक्रमलाई तथ्यमा आधारित बनाउन सहयोग पुग्ने विश्वास लिइएको बताउनु भयो । उहाँले सबैलाई कार्यक्रममा उपस्थित हुन पनि आग्रह गर्नुभयो ।
डंगोलले महिला भएकै कारण नेतृत्वमा भेदभाव र दुव्र्यवहार भोग्नुपर्ने अवस्थाको अन्त्य गर्दै हिंसा मुक्त र समतामूलक समाज निर्माण गर्न कार्यक्रम फलदायी हुने महानगरपालिकाको अपेक्षा रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल