महिलाको नाममा नक्शा पास गर्दा दस्तुर छुट दिने काठमाडौं महानगरको तयारी, महिला उद्यमीलाई विशेष सुविधा दिइने

.

काठमाडौं महानगरपालिकाले महिलाहरुको आर्थिक सशक्तीकरणलाई बढावा दिन घरको नक्शा पास गर्दा दस्तुरमा छुट दिने तयारी गरेको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी नगरसभामा महिलाको नाममा नक्शा पास गर्दा दस्तुर छुट दिने प्रश्ताव पेश गरिने घोषणा गर्नुभएको हो ।
११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘पावर इन एक्सन, हर टाइम इज नाउ’ सशर्षकको कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले महिलाहरु आर्थिक रुपमा सबल नभएसम्म महिला सशक्तीकरणको कुरा नारामा मात्र सिमित हुने बताउनु भयो । महानगरपालिकाले ‘एक वडा, एक नमूना कार्यक्रम’ सञ्चालन गरिरहेको समेत जानकारी दिनुभयो । कार्यस्थलमा हुने हिंसा न्युनिकरण गर्न महानगरपालिका कठोर रुपमा प्रश्तुत हुने संकेत उहाँले गर्नुभयो । हाल रहेका ६ वटा कानूनका अतिरिक्त कार्यस्थलमा हुने हिंसालाई विशेष जोड दिएर आगामी दिनमा नयाँ कानून बनाइने र त्यसको कडा परिपालना गराइने डंगोलले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जबसम्म हामी आर्थिक रुपमा सशक्त हुन सक्दैनौं, हामी परजीवी भइरहन्छौं र कसै न कसैमा भर पर्नुपर्ने हुन्छ । त्यसकारण महिला उद्यमी बनाउन र भएका उद्यमीलाई प्रोत्साहन गर्न जरुरी छ । महिला उद्यमीहरुलाई विशेष सुविधा हुने गरी नीतिगत, कानूनी र संस्थागत प्रवन्ध आगामी दिनमा हामीले गर्नेछौं ।’
महिलाहरु भविष्य मात्र नभएर वर्तमान पनि भएको बताउँदै उहाँले समाजका हरेक क्षेत्र—प्रशासन, न्यायपालिका, कानून र कार्यपालिकामा महिलाहरुले आफैं बाटो कोरेर अघि बढिरहेको र अरुका लागि पनि प्रेरणाको स्रोत बनिरहेको भन्दै प्रशंसा गर्नुभयो । –न्युज एजेन्सी नेपाल