मध्यपूर्वमा रहेका नेपाली नागरिकको विवरण संकलन जारीः हालसम्म ८२ हजार बढीले विवरण दर्ता गराए

.

परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।
शुक्रवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिनुभएको हो । उहाँकाअनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिव ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए । तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उहाँको दाबी छ । इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशहरुबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गर्नुभयो । उहाँले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत जानकारी दिनुभयो । ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनैपनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिनुभयो । जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कन्सुलर सेवा विभागबाट जुन अनलाइन दर्ता प्रणाली प्रयोजनमा ल्याइएको थियो उक्त प्रणालीमा हालसम्म ८२ हजार १ सय जनाले विवरण दर्ता गराउनुभएको छ । यो डेटामा झन्डै ६ हजार जतिले हामी असुरक्षित छौँ भन्नुभएकोमा पछिल्लो केही दिनयता असुरक्षित छौँ भन्नेको संख्या ह्वात्तै घटेको देखिन्छ । त्यसैगरी हाम्रो इमरजेन्सी कन्ट्रोल रुममा हालसम्म ७८ कलसहित एक सय ७० पटक सम्पर्क गरिएको छ । सम्पर्क गरेकामध्ये अधिकांशले सुरुका दिनहरुमा सुरक्षाको विषयमा जानकारी माग्ने र गराउने गर्नुभएको थियो । अहिले पछिल्लो समयमा श्रम स्वीकृति कहिले खुल्छ भन्ने प्रकारका जिज्ञासाहरु प्राप्त भएका छन् । हाम्रा दश वटै आयोगहरुमार्फत समस्यामा परेका नेपाली नागरिकहरुको विषयमा जानकारी लिने र समन्वय गर्ने कार्य यथावत राखिएको छ । अहिले कुनैपनि नेपाली नागरिक ट्रान्जिटमा रहनुभएको छैन । जेद्यामा रहेका ५२ जनान हजयात्रीहरु समेत फर्किसक्नुभएको छ ।’
उहाँले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्धारको लागि समेत तयार रहेको जानकारी दिनुभयो । —न्युज एजेन्सी नेपाल