संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्‍याउन आग्रह

.

संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका निष्कर्षहरू सार्वजनिक गर्न आग्रह गर्नुभएको छ । उहाँले ‘भयानक क्षतिको न्याय हुनुपर्ने’ कुरामा जोड दिनुभयो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६१ औं सत्रमा आयोजित एक जरुरी बहसमा भिडियो सन्देशमार्फत टर्कले प्राथमिक विद्यालयमा भएको बमबारीले ‘भयानक त्रास’ पैदा गरेको बताउनु भयो । मिनाबको शजरेह तय्येबेह प्राथमिक विद्यालयमा भएको बमबारीले गहिरो त्रास जगाएको छ । बमबारी गरिएका कक्षाकोठाहरू र शोकमा डुबेका अभिभावकहरूको तस्विरले युद्धको सबैभन्दा ठूलो मूल्य कसले चुकाउँछ भन्ने स्पष्ट पारेको छ । देशहरूबीच जस्तोसुकै मतभेद भएपनि, विद्यालयका बालबालिकाहरूलाई मारेर ती समस्या समाधान हुँदैनन् भन्ने कुरामा आफूहरु सहमत हुनसक्ने बताउनु भयो । इरानमा द्वन्द्व अघि बढ्दै जाँदा, अमेरिकी र इजरायली आक्रमणहरूले बढ्दो रूपमा घना बस्ती भएका आवासीय क्षेत्रहरूमा प्रहार गरेका छन् । नागरिक पूर्वाधारहरू नष्ट गरेका छन् । परमाणु सुविधाहरूलाई निशाना बनाउनु बुझ्न नसकिने हदसम्म लापरबाही हो । मध्यपूर्व र खाडी क्षेत्रमा सैन्य तनाव खतरनाक स्तरमा पुगिरहेको छ । यो अन्त्य हुनुपर्छ । प्रत्यक्ष रूपमा संलग्न देशहरूमा थप संक्रमण र नागरिक पीडा बढ्ने उच्च जोखिम छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।