प्रगतिशील शिक्षा प्रणालीतर्फ रेडियन्ट रिडर्स एकेडेमीको रूपान्तरण यात्रा

.

काठमाडाैँ । ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी ले आगामी शैक्षिक वर्ष २०८३ बाट विद्यालयमा पूर्ण रूपमा प्रगतिशील शैक्षिक धार (Progressive Educational Approach) लागू गर्ने घोषणा गरेको छ। शिक्षा क्षेत्रमा नवीन अभ्यास र गुणस्तरीय रूपान्तरणलाई केन्द्रमा राख्दै विद्यालयले यो प्रणाली संस्थागत रूपमा कार्यान्वयन गर्न लागेको हो।

विद्यालयका अनुसार विद्यार्थीलाई अभ्यासमूलक, अन्वेषणमूलक तथा सिर्जनात्मक सोचमा आधारित सिकाइ प्रदान गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले उक्त प्रणाली लागू गर्न लागिएको हो। विगत पाँच वर्षदेखि क्रमिक रूपमा प्रोग्रेसिभ शिक्षण–सिकाइ पद्धति अभ्यास गर्दै आएको विद्यालयले अब त्यसलाई एकीकृत र संरचित ढाँचामा रूपान्तरण गर्दै पूर्ण कार्यान्वयनमा लैजाने तयारी गरेको जनाएको छ।

यस अवधिमा परियोजना–आधारित सिकाइ, समस्या समाधान केन्द्रित अध्ययन, सहकार्यात्मक सिकाइ तथा अनुसन्धानमुखी गतिविधिहरूलाई कक्षाकोठामा समेट्दै नयाँ शैक्षिक वातावरण निर्माण गरिएको विद्यालय प्रशासनले जनाएको छ। अब ती अभ्यासहरूलाई औपचारिक प्रणालीका रूपमा विस्तार गरिनेछ।

विद्यालयका संस्थापक प्रिन्सिपल डीके ढुङ्गाना ले बदलिँदो विश्व परिवेश, प्रविधिको तीव्र विकास र भविष्यमा आवश्यक सीपहरूको मागलाई मध्यनजर गर्दै शिक्षा प्रणालीमा सुधार अपरिहार्य भएको बताए। उनका अनुसार विश्वभरका अग्रणी शैक्षिक संस्थाहरूले विद्यार्थी–केन्द्रित, अनुभवमा आधारित, आलोचनात्मक तथा सिर्जनात्मक सोच विकासमा जोड दिँदै शिक्षा सञ्चालन गरिरहेका छन्। सोही अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै विद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरू पुनर्संरचना गरेको उनले स्पष्ट पारे।

नयाँ प्रणाली अन्तर्गत शिक्षालाई केवल परीक्षा–केन्द्रित नभई जीवन–केन्द्रित बनाइने विद्यालयले जनाएको छ। विद्यार्थीलाई ज्ञानसँगै सोच्ने, खोज्ने, प्रश्न गर्ने, सहकार्य गर्ने तथा नेतृत्व विकास गर्ने वातावरण प्रदान गरिनेछ। साथै, समस्या समाधान क्षमता, नवप्रवर्तनशीलता, डिजिटल साक्षरता, सामाजिक उत्तरदायित्व र नैतिक नेतृत्वजस्ता सीप विकासलाई प्राथमिकता दिइने बताइएको छ।

प्रोग्रेसिभ पेडागोजी प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यालयले शिक्षक तथा कर्मचारीहरूलाई चरणबद्ध रूपमा तालिम प्रदान गरिसकेको छ। शिक्षण पद्धति सुधार, मूल्यांकन प्रणाली पुनरावलोकन तथा विद्यार्थीको समग्र विकास मापन गर्ने नयाँ विधिहरू समेत विकास गरिएको विद्यालय प्रशासनले जनाएको छ। आधुनिक कक्षाकोठा व्यवस्थापन, सिकाइमैत्री वातावरण तथा प्रविधिमैत्री पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।

विद्यालयले अभिभावकको आर्थिक अवस्थालाई ध्यानमा राख्दै गुणस्तरीय शिक्षालाई सर्वसुलभ शुल्क संरचनाभित्र उपलब्ध गराउने लक्ष्य लिएको छ। साथै, समुदाय, अभिभावक र विद्यालयबीचको सहकार्यलाई थप सुदृढ बनाउने योजना पनि अघि सारिएको छ।

विद्यालयका अनुसार दीर्घकालदेखि मानव मूल्य, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र व्यवहारिक ज्ञानलाई केन्द्रमा राखेर शिक्षण पद्धति विकास गर्दै आएको छ। विद्यार्थीलाई केवल परीक्षामा सफल बनाउने होइन, जीवनमा सफल र जिम्मेवार नागरिक बनाउने उद्देश्यका साथ शिक्षा प्रदान गरिँदै आएको जनाएको छ।

विद्यालय प्रशासनले यस नयाँ प्रणालीमार्फत नेपालमा आधुनिक, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय अभ्याससँग जोडिएको शिक्षा मोडेल स्थापित गर्ने विश्वास व्यक्त गरेको छ। साथै, शिक्षा क्षेत्रका सरोकारवालाहरूसँग सहकार्य गर्दै गुणस्तरीय शिक्षा विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।