कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले नेपालजस्ता न्युन कार्बन उत्सर्जन गर्ने मुलुकहरूले समेत जलवायु परिवर्तनको असर भोग्नुपरेको उल्लेख गर्नुभयो । उहाँले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र विकास प्रक्रियामा गम्भीर अवरोध सिर्जना गरेको बताउनु भयो । जलवायु प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी पेस गरिसकेको उल्लेख गर्दै उहाँले त्यसको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती रहेको बताउनु भयो । उहाँले जलवायु संकटको दिगो समाधानका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमबीचको बलियो सहकार्य अपरिहार्य रहेको बताउनु भयो । उहाँले वन तथा जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरले समेत प्रशंसा गरेको चर्चा गर्दै वातावरणीय सन्तुलन कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र होइन । यो आर्थिक, सामाजिक, मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ । नेपालजस्तो न्युन कार्बन उत्सर्जन गर्ने देशले पनि जलवायु परिवर्तनका असरहरु अत्याधिक भोग्नुपरिरहेको छ । हिमनदीहरु पग्लनु, असामान्य वर्षा, बाढी पहिरो तथा खडेरीजस्ता समस्याहरु दिनप्रतिदिन बढ्दै गएका छन् । यसले हाम्रो विकास यात्रा र जनजीवनमा गम्भीर प्रभाव पारिरहेको छ । यसकारण नेपाल सरकारले अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी समयमै पेश गरेको छ । अब हाम्रो प्रमुख ध्यान यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य अत्यन्तै आवश्यक छ । साथै निजी क्षेत्र, नागरिक समाज तथा सञ्चारमाध्यमहरुको सक्रिय सहभागिता बिना दिगो समाधान सम्भव देखिँदैन । जलवायु परिवर्तनको सामना गर्नु हामी सबैको साझा जिम्मेवारी हो भन्ने भावना विकास गर्न आवश्यक छ । नेपालले वन संरक्षण, जैविक विविधता संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्ने सवालमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको छ । हाम्रो वन क्षेत्र विकास तथा संरक्षणका प्रयासहरुले अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण सन्देश दिएको छ ।’
जलवायु परिवर्तनको असर कम गर्न तथा जलवायु प्रतिकार्यका लागि सरोकारवाला सबै जिम्मेवार हुन जरुरी रहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल