सिरिया र लेबनान बीचको जदेइत याबौस सीमा नाका बन्द भएको छ । जसले दुई छिमेकी देशहरूबीचको व्यापार र यात्रामा असर पारेको छ । इजरायलीले उक्त क्षेत्रमा सम्भावित आक्रमणको चेतावनी दिएपछि सुरक्षा चिन्तालाई उद्धृत गर्दै सिरियाली अधिकारीहरूले एक दिन अघि नै नाका बन्द गर्ने घोषणा गरेका थिए । लेबनानको मसना सीमा बिन्दुको ठीक विपरित रहेको यो नाका दुई देशबीचको एक प्रमुख पारवहन मार्ग हो । इजरायली सेनाले हिजबुल्लाहले यस सडकलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्ने गरेको आरोप लगाउँदै मसना नाका जाने सडकलाई लक्षित गर्ने योजनाको संकेत दिएको छ । यसैबीच सिरियाली अधिकारीहरूले जदेइत याबौस नाका केवल नागरिक प्रयोगका लागि तोकिएको र यो कुनै सैन्य उद्देश्यका लागि नभएको कुरामा जोड दिएका छन् । सुरक्षा अवस्था स्थिर नभएसम्म नाका बन्द रहने र सामान्य सञ्चालन चाँडो भन्दा चाँडो शुरु गर्न प्रयासहरू भइरहेको अधिकारीहरूले बताएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।