वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त नभएका कारण अघि बढन नसकेको बताउनु भएको छ ।
बिहीवार सिंहदरवारमा आयोजित अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उहाँले संघीय सरकारले पर्याप्त बजेट नपठाएका कारण स्थानीय तहमा विभिन्न आयोजनाहरुको काम सम्पन्न गर्न नसकिने अवस्था आएको प्रष्टाउनु भएको हो । मेयर ढकालले पर्याप्त बजेट बिना आयोजनाहरु अघि बढाउने काम स्थानीय सरकारले गर्न नसक्दा बेरुजु हुने अवस्था आएकाले उल्लेख गर्दै त्यस्ता अवस्था आउन नदिन संघीय सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले हालै सरकारले विद्यालय भवन निर्माणका लागि भनेर पठाएको बजेट समेत कमी हुने भएकाले ती कामहरु अघि बढाउने अवस्था नरहेकोतर्फ पनि संघीय सरकारलाई सचेत गराउनु भयो ।
मेयर ढकालले भन्नुभयो,‘माथिबाट योजनाहरु जाने, तर कार्यान्वयन नगर्दा संघले पठाउको पैसा, प्रदेशले पठाएको पैसा किन कार्यान्वयन गरिएनभनेर प्रश्न हामीमाथि उठने । तर, ती कार्यान्वयनमा जाँदाखेरी कतिपय कुरा झन्झटिलो हुने र त्यसले लाभ भन्दा बढि च्यालेन्ज दिने खालको पनि हुन्छ । त्यसकारण संघीय सरकारले नै योजना पठाउँदाखेरी कार्यान्वयन त्यति मितिमा हुन सक्छ कि सक्दैन ? आफूले पठाएको बजेट डिजाईन, इष्टिमेटअनुसार छ कि छैन ? सबै कुरा आँकलन गरेर पठायो भने तल सजिलो हुन्छ । जस्तो भर्खरै पनि कतिपय विद्यालयहरुको भवन बनाउने भनेर पैसा गएको छ । यो पैसा र पठाउको डिजाईन, इष्टिमेट केही पनि मिल्दैन । हामीले केही स्रोत सुनिश्चित गरेर टेन्डर गर्न मिल्छ कि भनेर हे¥यौं । त्यसमा पनि सकिएन । ३० लाख पैसा पठाएर एक करोडमा पनि नसक्ने काम कसरी गर्न सकिन्छ ? यस्तो अवस्थामा बजेट खर्च पनि नहुने र बेरुजु पनि बढने अवस्था स्थानीय तहमा हुन गएको छ । त्यस्तो अवस्थाको अन्त्य हुनुपर्छ ।’
मेयर ढकालले स्थानीय सरकारसँग कुनै पनि अधुरा आयोजनाहरु अघि बढाउनका लागि स्रोत सुनिश्चित गर्ने बाटो पनि नभएको उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल