पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
शुक्रवार गौशालास्थित कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले अनधिकृत रुपमा निर्माण गरिएका पाँच वटा टहराहरु हटाएको जानकारी दिनुभयो । उहाँले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका महानगरभित्रका सबै संरचना तथा टहराहरु भत्काउने कार्य पुनः शुरु गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज हामीले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका पाँच वटा टहराहरु भत्कायौँ । यो प्रक्रिया अब निरन्तर रुपमा चलिरहन्छ । केही कागजातहरु प्रक्रियामै रहेकाले कोषबाट थप स्पष्ट भएर आउला नै ।’
पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी कवाड व्यवसाय गर्न तथा अन्य प्रयोजनको लागि बनाइएका टहरा भत्काइएको समेत उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल