कम्युनिष्ट पार्टीका नेताहरु भन्छन्–‘धक्का चानचुने छैन, तर हामी उठ्छौैँ’

.

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलन ७७ वर्ष पूरा गरेर ७८ औं वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यस अवधिमा धेरै अप्ठ्याराहरू, विभाजनका पीडाहरू, एकताका उत्साहहरू र पराजयका चुनौतीपूर्ण क्षणहरूको अनुभव गरेको बताउनु भयो । उहाँले पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य लगायतका संस्थापक नेताहरूप्रति सम्मान व्यक्त गर्दै शहीदहरू र योद्धाका परिवारजनप्रति श्रद्धा प्रकट गर्नुभयो । उहाँले ६ महिनाभित्र पार्टीको महाधिवेशन सम्पन्न गने,    युवा नेतृत्वलाई तलदेखि माथिसम्म प्राथमिकता दिने, गल्ती स्वीकार्दै नयाँ सिराबाट पार्टी पुनर्गठन गर्ने,    अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण र समाजवादी मोर्चा निर्माण गर्ने बताउनु भयो । लेनिन जयन्तीको महत्वबारे चर्चा गर्दै प्रचण्डले साम्राज्यवादले फेरि युद्धको सहारा लिन खोजेको र विश्व तेस्रो विश्वयुद्धको सन्त्रासमा रहेको बताउनु भयो । उहाँले रुस–युक्रेन, प्यालेस्टाइन–इजरायल युद्ध र इरान–अमेरिका तनावको चर्चा गर्दै कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय दायित्व थपिएकोमा जोड दिनुभयो ।
लेनिनको एक कदम अगाडि, दुई कदम पछाडि सिद्धान्तलाई उद्धृत गर्दै प्रचण्डले विगतका गल्ती कमजोरीहरूको आत्मचिन्तन भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले जहाँ कमजोरी भयो त्यसको वस्तुवादी समीक्षा गर्नै पर्दछ । गल्ती कमजोरीहरू सफा गर्ने अवसर पनि हो । जनताले हामीलाई घृणा गरेको होइन, सबक सिकाएको हो ।’
आगामी असोजभित्र महाधिवेशन सम्पन्न गर्ने र पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गर्ने योजना प्रचण्डले सुनाउनु भयो । नयाँ युवाहरूलाई प्राथमिकता दिने र पुरानो पुस्ताले पनि नयाँ भूमिकामा आफूलाई प्रस्तुत गर्ने उहाँको भनाइ थियो । कम्युनिष्ट आन्दोलनको पुनर्गठनको नेतृत्व आफ्नो पार्टीले लिने उहाँले दाबी गर्नुभयो ।
नयाँ भनिएका शक्तिहरूले प्राप्त गरेको जनमतलाई सम्मान गर्दै उहाँले वर्तमान संविधान र गणतान्त्रिक व्यवस्था स्थापनामा कम्युनिष्टहरूको निर्णायक भूमिका नबिर्सन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नयाँ साथीहरूले यो कुरा ख्याल गर्नुपर्छ कि तपाईँहरू जुन संविधान भित्रबाट आउनुभएको छ, त्यो हिजोको जनयुद्ध र जनआन्दोलनको बलमा सम्भव भएको हो ।’
प्रचण्डले निराशालाई त्याग्न र छिट्टै आउने आन्दोलनको नयाँ लहरका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा, ७७ वर्षे इतिहासको निर्मम समीक्षा जरुरीः नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा रहेको बताउनु भयो । वि.सं. २००६ साल वैशाख ९ गते कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको इतिहासलाई सम्झिँदै नेता नेपालले संस्थापकहरूको संख्याबारे जारी बहसलाई स्पष्ट पार्नुभयो । उहाँले पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र निरन्जन गोविन्द वैद्यसँगै महिला नेतृ मोतीदेवीलाई पनि संस्थापक मान्नुपर्ने धारणा राख्नुभयो ।
‘उपस्थितिको हिसावले ४ जना भए पनि मोतीदेवी सहित ५ जनालाई नै संस्थापक मान्नुपर्छ, यसमा हामीले तथ्यको आधारमा एउटा निस्कर्षमा पुग्नै पर्छ ।’ उहाँले भन्नुभयो ।
पछिल्लो निर्वाचनको नतिजाले कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का दिएको नेता नेपालको विश्लेषण छ । कम्युनिष्ट आन्दोलन अहिले गम्भीर संकटमा उभिएको भन्दै उहाँले ७७ वर्षको समग्र सिंहावलोकन गर्नुपर्ने बेला आएको बताउनु भयो । २०२६ सालमा पुष्पलालले १८ वर्षको सिंहावलोकन गरे जस्तै अहिलेको अवस्थामा समग्र कम्युनिष्ट आन्दोलन कसरी उकालो र ओरालोको बाटो हुँदै अगाडि बढ्यो भन्ने कुराको गहन समीक्षा जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।
असफलताबाट नआत्तिन आग्रह गर्दै उहाँले विश्व कम्युनिस्ट इतिहासको समीक्षा गर्नुभयो । रुसी अक्टोबर क्रान्तिदेखि चीनको आर्थिक उत्थानसम्मको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘देङ सियाओपिङले अगुवाइ गरेपछि चीनले जसरी आर्थिक छलाङ मा¥यो, त्यो हाम्रा लागि प्रेरणा हो । आज चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उभिएको छ ।’
पराजयलाई विजयमा बदल्न नयाँ सिराबाट धुलो टक्टक्याएर उठ्नुपर्ने माओत्सेतुङको भनाइलाई उहाँले उद्धृत गर्नुभयो ।
वर्तमान सरकारले जनताको भावना बुझ्न नसकेको नेता नेपालको आरोप छ ।
उहाँले भन्नुभयो, ‘मर्निङ शोज द डे भनिन्छ, तर सरकारको लक्षण राम्रो देखिँदैन। जनतामा सन्तुष्टि छैन ।’
भ्रष्टाचार, विसंगति र बेथिति अन्त्य गर्न कम्युनिस्टहरूले नै पहलकदमी लिनुपर्ने भए पनि पहिले आफ्नै पार्टीभित्रको व्यक्तिवाद र स्वार्थलाई त्याग्नुपर्ने उहाँको धारणा थियो ।
पार्टी एकता र साङ्गठनिक सुदृढीकरणको काममा विलम्ब भएको उहाँले स्वीकार गर्नुभयो । कार्यकर्ताहरूलाई ठोस जिम्मेवारी दिन नसकेको कुरालाई कमजोरीका रूपमा लिँदै अब छिट्टै कार्यविभाजन र संगठन एकीकरणको काम सम्पन्न गरिने आश्वासन दिनुभयो । इमानदार र निष्ठावान भएर अगाडि बढे मात्रै जनताको विश्वास जित्न सकिने उहाँको दाबी छ ।
नेता नेपालले कम्युनिस्ट पार्टी सधैं राष्ट्रियताको पहरेदार भएको र देशभक्तिको झण्डा दृढताका साथ बुलन्द गर्नुपर्ने बताउनु भयो ।
दक्षिणपन्थी अवसरवाद र अराजकतालाई परास्त गरेर मात्रै समाजवाद सम्भवः उपाध्यक्ष बादल
नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त नगरी समाजवादको लक्ष्य हासिल हुन नसक्ने बताउनु भयो । उपाध्यक्ष बादलले २००६ सालमा रोपिएको कम्युनिष्ट आन्दोलनको बिरुवा आज विशाल वृक्षको रूपमा स्थापित भएको बताउनु भयो । २००७ सालको राजनीतिक परिवर्तनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणसम्म एमालेले निर्णायक र नेतृत्वदायी भुमिका खेलेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘आज नेपालको झन्डै दुई तिहाइ जनमत कम्युनिष्टहरूको प्रभावमा छ र नेकपा (एमाले) यसको मूलधारको रूपमा स्थापित भएको छ ।’
पछिल्लो समय पार्टीले व्यहोर्नुपरेको चुनावी धक्काको विश्लेषण गर्दै उपाध्यक्ष बादलले १० औं र ११ औं महाधिवेशनको निष्कर्षलाई स्मरण गराउनु भयो । उहाँकाअनुसार आन्तरिक र वाह्य रूपमा दक्षिणपन्थी अवसरवाद र अराजकतावादलाई परास्त गर्न नसक्दा आन्दोलनले धक्का खाएको हो ।
उहाँले भन्नुभयो, ‘यदि हामी नयाँ विजय चाहन्छौं र समाजवादी आन्दोलनलाई अघि बढाउन चाहन्छौं भने दक्षिणपन्थी विसर्जनवाद र अराजकतालाई वैचारिक र सांगठनिक रूपमै परास्त गर्नैपर्छ ।’
एमाले धुलो टकटक्याएर पुनः उठ्छ, राष्ट्रिय राजनीतिको नेतृत्व गर्छः उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हालैको निर्वाचनमा पार्टीले बेहोरेको धक्काबाट निराश नभई नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । एमालेलाई पुनः राष्ट्रिय राजनीतिको अग्रणी शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ऐतिहासिक सन्दर्भ र पार्टीले ७७ वर्षको यात्रामा प्राप्त गरेका उपलब्धिहरूको चर्चा गर्दै उपाध्यक्ष पौडेलले वर्तमान समयमा देखिएको निराशालाई चिर्दै पार्टी पुनर्गठनको अभियानमा जुट्न नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो ।
धक्का चानचुने छैन, तर हामी उठ्छौँ
सम्बोधनका क्रममा उपाध्यक्ष पौडेलले २०८२ साल फागुनमा सम्पन्न निर्वाचनमा भएको पराजयलाई नेपालको कम्युनिस्ट आन्दोलनकै इतिहासमा सबैभन्दा ठूलो धक्काको रूपमा स्वीकार गर्नुभयो ।
‘यो धक्का र असफलता चानचुने छैन । तर एमालेको भविष्य सकियो भनेर चिताउनेहरूको कामना व्यर्थ हुनेछ । हामी धुलो टक्टक्याएर उठ्छौँ र व्यवहारबाटै एमाले अझै शक्तिशाली छ भन्ने प्रमाणित गर्नेछौँ ।’ उहाँले भन्नुभयो ।
पौडेलले २०७२ देखि २०८२ सम्मको एक दशकको यात्रालाई गम्भीरतापूर्वक समीक्षा गर्ने बताउनु भयो । झन्डै दुई तिहाइको शक्ति आर्जन गरेको पार्टी कसरी अहिलेको कमजोर अवस्थामा आइपुग्यो भन्नेबारे निर्ममतापूर्वक आत्मसमीक्षा गरिने उहाँको भनाइ थियो ।
उहाँले थप्नुभयो, ‘हामी हाम्रा कमजोरीहरू केलाउनेछौँ, वाह्य र आन्तरिक कारणहरूको पहिचान गर्नेछौँ र जनताको आलोचनालाई शिरोपर गर्दै उनीहरूकै माझमा फर्किनेछौँ ।’
जनताको बहुदलीय जनवादः सधैँ अनुमोदन हुनुपर्ने बाध्यता
जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सान्दर्भिकता चर्चा गर्दै पौडेलले यो केवल पदावली मात्र नभई मार्गदर्शन सिद्धान्त भएको बताउनु भयो । जबजले एकपटक मात्र नभई बारम्बार र सधैँ जनअनुमोदित हुन सिकाउने भन्दै उहाँले एमाले निरन्तर जनताको विश्वास जितिरहने क्रान्तिकारी शक्तिका रूपमा रहने दाबी गर्नुभयो ।
सरकारलाई चेतावनीः प्रतिशोधको राजनीति मान्य छैन

उपाध्यक्ष पौडेलले वर्तमान सरकारलाई प्रतिशोध र पूर्वाग्रहका आधारमा शासन नगर्न चेतावनी दिनुभयो ।
‘प्रतिशोध शासन सञ्चालनको आधार हुन सक्दैन । यदि सरकार लोकतन्त्रका आधारभूत मूल्य र संविधानको विरुद्धमा गयो वा अधिनायकवादी बाटो रोज्यो भने नेपाली जनताले प्रतिवाद गर्नेछन् र त्यसको अगुवाइ एमालेले गर्नेछ ।’ उहाँले भन्नुभयो ।
उहाँले देशभरका पार्टी पंक्तिलाई आत्मविश्वासका साथ आ–आफ्नो जिम्मेवारीमा जुट्न आग्रह गर्नुभयो ।
पोखरेलको उद्घोषः सत्तामुखी होइन, जनतामुखी एमाले बनाऔँ
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अब केन्द्रमुखी र सत्तामुखी मानसिकताबाट मुक्त भएर पूर्ण रूपमा जनतातिर फर्कनुपर्ने बताउनु भयो । उहाँले पार्टीको पुनर्जागरणका लागि नयाँ सङ्कल्प र जनतामुखी कार्यदिशाको खाँचो रहेको औंल्याउनु भयो । पुष्पलाल श्रेष्ठदेखि मदन भण्डारीसम्मको योगदानको चर्चा गर्दै पोखरेलले २००६ सालमा स्थापना भएको पार्टीले नेपाली सर्वहारा वर्गको मुक्तिका लागि ऐतिहासिक कार्यभार पूरा गर्दै आएको बताउनु भयो । विशेषगरी जननेता मदन भण्डारीले अगाडि सार्नुभएको ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले नेपाली क्रान्तिलाई मौलिक दिशा प्रदान गरेको र आजको लोकतान्त्रिक परिवेश त्यसकै जगमा उभिएको उहाँको दाबी थियो ।
आम निर्वाचन २०८२ को परिणाम एमालेका लागि अनपेक्षित रहेको स्वीकार गर्दै महासचिव पोखरेलले पार्टी र जनता बीचको संवादमा खाडल देखिएको स्वीकार गर्नुभयो ।
‘हामीले विकास र देशभक्तिका ठूला कुरा ग¥यौं, तर जनताको दैनिक जीवनका अभाव, स्वास्थ्य र शिक्षामा रहेको असमानतालाई गहिरो गरी बुझ्न सकेनौँ,’ उहाँले भन्नुभयो । 
महासचिव पोखरेलले पछिल्लो समय पार्टीबाट चारवटा क्षेत्र अलग भएको निष्कर्ष सुनाउनु भयो । युवा पंक्ति, शहरीया मध्यम वर्ग, प्रवासी नेपाली, र भूमिहीन सुकुम्बासीहरू पार्टीबाट टाढिएको उहाँको भनाइ छ । यी वर्गलाई जोड्न पार्टीले नीति बनाए पनि व्यवहारमा उतार्न नसक्नु मुख्य कमजोरी रहेको उहाँले औंल्याउनु भयो ।
नयाँ शक्तिहरूलाई ‘लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद’ को प्रतिविम्व भन्दै उहाँले यस्ता शक्तिहरूको उदय जति छिटो हुन्छ, पतन पनि त्यति नै छिटो हुने तर्क गर्नुभयो । यो छोटो समयको बाढी जस्तै भएको र संघर्षबाट खारिएका दलहरूको अगाडि यस्तो अराजकता टिकिरहन नसक्ने उहाँको भनाइ थियो ।
आगामी बाटोः सत्तामुखी होइन, जनतामुखी
अबको एमाले केन्द्रमुखी होइन, ‘जरा केन्द्रित’ हुनुपर्ने र प्रत्येक नेता–कार्यकर्ताले आफ्नो जीवनशैली र आचरणमा सुधार ल्याउनुपर्ने उहाँको निर्देशन थियो । अनुशासन र एकतालाई नै पार्टी सुदृढीकरणको आधार बनाउनुपर्ने उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल