कास्कीको पोखरा महानगरपालिका–३० मा पर्ने शिशुवा–शिसाघाट सडक खण्डअन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको समन्वय र विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण सम्पन्न उक्त सडकको बिहीवार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । सडक उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख आचार्यले करिव सवा तीन अर्ब रुपैयाँ लागतमा परियोजना अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले प्राविधिक र व्यवस्थापकीय पक्षलाई समेत ध्यानमा राखी ‘रेटेड क्राइटेरिया’ अनुसार काम सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले यो परियोजना देशकै नमूना परियोजना रहेको दाबी पनि गर्नुभयो । उहाँले सडकखण्ड विस्तारका क्रममा सामुदायिक वन एवं स्थानीयको बस्ती व्यवस्थापन गर्नुपर्दा केही ढिलाई भएको बताउनु भयो । पोखरा महानगरको सडक पूर्वाधार लगायतको कामका लागि संघ सरकारसँग आवश्यक समन्वय भइरहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो परियोजना सवा तीन अर्बको परियोजना हो । यो परियोजना नेपालको इतिहासमै एउटा नमूना परियोजना हो । सडक निर्माण गर्नुभन्दा अगाडि नै ठेकेदारलाई सबै कुरा बुझ्नुस्, के के कुरा गर्न सक्नुहुन्छ ? के के सक्नुहुन्न सबै कुरा हेरेर रेटेड क्राइटएरियासहित बाटो सम्पन्न भएको अवस्था छ । यो सबै एउटै प्याकेजको हो । रातो कितावलाई नै अगाडि राखेर हेरौँ कुनैपनि ठाउँमा समस्या छैन । फेरि छुट्याउनुपर्ने रहेछ भने छुट्याउँला भोलि ।’
नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण गरिएको सडकमा १५ मिटर चौडाइको डबल लेन, ७ मिटर सपोर्ट सडक, १ दशमलव ५ मिटर साइकल ट्र्याक र २ दशमलव ५ मिटर फुटपाथ निर्माण गरिएको छ । –न्युज एजेन्सी नेपाल