मजदुर आन्दोलनको बलमा प्राप्त अधिकार सरकारले खोस्न खोजेको नेता नेपालको आरोप

.

नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनताको संवैधानिक अधिकार खोस्न लागेको आरोप लगाउनुभएको छ ।
मजदुर आन्दोलनको इतिहास र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै नेता नेपालले सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुरविरोधी देखिएको टिप्पणी गर्नुभएको हो । हाँले कार्ल माक्र्सको ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ भन्ने उद्घोषलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकार गठन भएको १०० दिन पनि पूरा नहुँदै गलत लक्षणहरू देखिएको नेता नेपालको दाबी छ । सरकारले सुकुम्बासी समस्याको उचित विकल्प नखोजिकन दमन गरेको, ट्रेड युनियन अधिकारमाथि अङ्कुश लगाउन खोजेको र अध्यादेशमार्फत शासन गर्न खोजेकोमा उहाँले आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘देश बनाउने चाहना छ भने त्यो सबैको साझा हुनुपर्छ । तथ्याङ्क नलिई र वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीलाई हटाउने कार्य जायज छैन । सरकारले आफ्ना कदमहरू नसच्याए मजदुर वर्गले पुनः सङ्घर्षको नेतृत्व गर्नेछ ।’
नेपालको भूराजनीतिक अवस्था संवेदनशिल रहेको उल्लेख गर्दै नेता नेपालले असंलग्न परराष्ट्र नीतिको महत्वमाथि प्रकाश पार्नुभयो ।
‘हामी दुई ठुला छिमेकीको बिचमा छौँ । हामी कुनैपनि सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौँ र कसैको ‘पुच्छर’ पनि बन्न सक्दैनौँ ।’
उहाँले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सबै सचेत हुनुपर्ने बताउनु भयो ।
प्रतिकूल राजनीतिक अवस्थामा पनि निराश नहुन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘हारपछि जित अवश्य हुन्छ । मजदुर वर्गले समाजका सबै तहका समस्या बुझेर परिवर्तनको नेतृत्व गर्नुपर्छ ।’
देशमा बढ्दो बेरोजगारी र युवाहरूको पलायनप्रति चिन्ता व्यक्त गर्दै उहाँले शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनु भयो । —न्युज एजेन्सी नेपाल