विश्वव्यापी अस्थिरताका कारण श्रमिक वर्ग मारमाः आईटीएफ महासचिव स्टेफेन

.

अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) का महासचिव स्टेफेन कटनले विश्वमा बढ्दो अस्थिरता र द्वन्द्वका कारण श्रमिकहरूको जीवनस्तर कष्टकर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव कटनले वर्तमान विश्व परिस्थितिले आपूर्ति श्रृंखलामा पारेको प्रभाव र श्रमिकहरूले झेल्नुपरेका चुनौतीहरूबारे चर्चा गर्नुभएको हो । आफ्नो सम्बोधनका क्रममा कटनले युक्रेनमा जारी युद्धका कारण खाडी मुलुकमा कार्यरत आप्रवासी नेपाली श्रमिक, नाविक र यातायात क्षेत्रका मजदुर मात्र नभई विश्वव्यापी आपूर्ति श्रृंखलामा आवद्ध सबै व्यक्तिहरू प्रभावित भएको बताउनु भयो । महासचिव कटनले संयुक्त राज्य अमेरिका जस्ता शक्ति राष्ट्रहरूले चाल्ने एकपक्षीय कदमले विश्वभरका श्रमिकहरूको जीवनमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको टिप्पणी गर्नुभयो । उहाँले श्रमिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै सन् १८८६ मा सिकागोका श्रमिकहरूले आफ्नो हकहितका लागि शुरु गरेको संघर्षकै कारण आज विश्वभरि श्रमिक ऐक्यवद्धता कायम भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विश्वभरि खाद्यान्न र ऊर्जाको मूल्य अत्यधिक बढेको छ, तर विडम्बना धेरै देशका सरकारहरूले जनताको आवाज सुन्न छाडेका छन् ।’
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) का लु ट्रायंगल र एजुकेसन इन्टरनेसनलका महासचिव डेभिड एडवड्र्ससँगको संवादलाई उद्धृत गर्दै कटनले सरकारी नयाँ सिफारिस र नीतिहरूका कारण निजामती कर्मचारीहरूको हकअधिकार समेत जोखिममा रहेको औंल्याउनु भयो । उहाँले विषम परिस्थितिमा पनि श्रमिकहरूलाई संगठित हुन र आफ्नो अधिकारका लागि एकतावद्ध रहन आह्वान गर्नुभयो । अन्तर्राष्ट्रियस्तरका श्रमिक नेताहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा कटनले नेपाली श्रमिक र यहाँका नेतृत्वको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय ऐक्यवद्धता नै श्रमिक शक्तिको मुख्य आधार भएको उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल