कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गल्फ खेल केवल मनोरञ्जन मात्र नभई निष्पक्षता, अनुशासन र आत्मसंयमको महत्वपूर्ण पाठशाला भएको बताउनुभएको छ ।
बाह्रखरी मिडियाद्वारा आयोजित आर्थिक बहस तथा गल्फ प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलमार्फत प्राप्त हुने इमानदारीलाई व्यावसायिक र सार्वजनिक जीवनमा पनि उतार्नुपर्नेमा जोड दिनुभएको हो । कामु प्रधानन्यायाधीश मल्लले यस कार्यक्रमलाई ‘आर्थिक समृद्धि’ र ‘स्वास्थ्यमार्फत प्राप्त हुने खुशी’ को अनुपम संगमका रूपमा चित्रण गर्नुभयो । आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै उहाँले शुरुवाती दिनमा गल्फलाई कम शारीरिक अभ्यास हुने खेलका रूपमा बुझेको भएपनि पछि यसको गहिराइ बुझेको बताउनु भयो । न्यायिक क्षेत्र र गल्फको सम्बन्धलाई जोड्दै उहाँले खेलमैदानमा देखिने ‘फेयरनेस’ को प्रशंसा गर्नुभयो । गल्फको हरियो वातावरणले मानसिक पुनर्ताजगी प्रदान गर्ने चर्चा गर्दै उहाँले यस खेलमा हुने स्वस्थ प्रतिष्पर्धा र संयमता अनुकरणीय रहेको बताउनु भयो । प्रतिशोध र गल्ती दोहो¥याउने भन्दा पनि गल्ती सुधार्दै अघि बढ्ने गल्फको संस्कारलाई समाज र राष्ट्रले आत्मसात गर्नुपर्ने उहाँको धारणा थियो ।
उहाँले भन्नुभयो, ‘एकातिर आर्थिक बहस र अर्कोतिर खेलकुद हुनु आफैँमा एक मौलिक अभ्यास हो । यसले नागरिकको स्वास्थ्य र समृद्धि दुवैलाई सँगै जोडेको छ । गल्फमा केवल शारीरिक शक्ति मात्र होइन, सीप र रणनीतिको ठूलो भूमिका हुने रहेछ । हामी अदालतमा सधैँ निष्पक्षताको कुरा गर्छौँ, तर गल्फ कोर्समा त झन् यसको ठूलो अभ्यास हुने रहेछ । आफूले गल्ती गर्दा कसैले नदेखे पनि स्वयं खेलाडीले पेनाल्टी स्वीकार गर्नु इमानदारीको उत्कृष्ट नमूना हो । यस्तो निष्ठा र इमानदारी हाम्रो आर्थिक र प्रशासनिक क्षेत्रमा पनि आवश्यक छ ।’
उहाँले समाजमा नकारात्मक टिप्पणीको सट्टा स्वस्थ र रचनात्मक आलोचनालाई स्वीकार गर्ने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिनुभयो । —न्युज एजेन्सी नेपाल