सुधार र आधुनिकीकरणमा जोड, महासंघले मनायो ३१औँ स्थापना दिवस

.

काठमाडौँ । नीतिगत सुधार, आधुनिक प्रविधिको अपनत्व र व्यवसायीहरूको एकतामा जोड दिँदै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले आफ्नो ३१औँ स्थापना दिवस बालाजु बाइसधारा मा विविध कार्यक्रमका साथ मनाएको छ ।
बढ्दो मूल्यबृद्धि र व्यवसायिक चुनौतीबीच समाधान खोज्ने प्रतिबद्धतासहित संघीय संरचनाअनुसार देशभर संगठन विस्तारलाई तीब्रता दिँदै महासंघले स्थापना दिवस मनाएको हो ।
तीन दशकभन्दा बढीको संघर्ष, सहकार्य, एकता र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आएको महासंघ यस अवसरसँगै आफ्नो गौरवमय ३१औँ वर्षमा प्रवेश गरेको हो ।
कार्यक्रममा अध्यक्ष ठुलोबाबु श्रेष्ठ, निवर्तमान अध्यक्ष मोहन कुटुवाल, वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष केदार अधिकारी लगायत केन्द्रीय पदाधिकारी, प्रदेश तथा जिल्ला समितिका प्रतिनिधि, महानगर तथा नगर समितिका सदस्यहरू, व्यवसायी, पत्रकार, कलाकार तथा सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवात æरक्तदान जीवन दानÆ भन्ने मूल मन्त्रसहित आयोजित रक्तदान कार्यक्रमबाट गरिएको थियो । उक्त रक्तदान कार्यक्रम काठमाडौं मेडिकल कलेज ब्लड बैंक सँगको सहकार्यमा सम्पन्न भएको थियो । व्यस्त दैनिकीका बाबजुद पनि व्यवसायीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता देखाएका थिए । आयोजकका अनुसार यस पहलले धेरै बिरामीहरूका लागि आशा जगाउने विश्वास गरिएको छ ।
रक्तदानपछि सञ्चालन गरिएको वनभोज कार्यक्रमले औपचारिकताको घेरालाई तोड्दै व्यवसायीहरूबीच आत्मीयता र मित्रताको वातावरण सिर्जना गरेको थियो । हाँसो, खुशी र सम्झनाहरूले भरिएको वातावरणले …व्यवसायभन्दा माथि सम्बन्धÚ भन्ने सन्देशलाई व्यवहारमै उतारेको देखिएको थियो ।
कार्यक्रमको अर्को आकर्षणका रूपमा सांस्कृतिक प्रस्तुति रहेको थियो। चर्चित कलाकारहरू डिजराज पौडेल, प्रकाश ओझा, लोकदोहोरी गायिका उमा श्रेष्ठ, लोकगायक सुर्यमणी आचार्य, अमृत खाती, स्मृति गौतम, यादव श्रेष्ठ लगायतले प्रस्तुत गरेका गीत, संगीत तथा नृत्यले कार्यक्रमलाई झन् रौनकपूर्ण बनाएको थियो । नेपाली कला, संस्कृति र मौलिकतालाई उजागर गर्ने प्रस्तुतिहरूले सहभागीहरूलाई भावनात्मक रूपमा जोड्दै उनीहरूमा नयाँ ऊर्जा भरिएको अनुभव गराएको थियो ।
कार्यक्रममा महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले महासंघको यात्रालाई स्मरण गर्दै भविष्यका योजनाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । व्यवसायीहरूको एकता नै महासंघको मुख्य शक्ति भएको उल्लेख गर्दै नीतिगत सुधार, आधुनिक प्रविधिको प्रयोग तथा संगठन विस्तारलाई प्राथमिकतामा राखिने उहाँले बताउनुभयो ।
महासंघले संघीय संरचनाअनुसार संगठन विस्तारलाई तीब्रता दिएको जनाउँदै अध्यक्ष श्रेष्ठले विभिन्न प्रदेश तथा स्थानीय तहमा समिति गठनको कार्य भइरहेको जानकारी दिनुभयो । दक्ष जनशक्ति उत्पादनका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उल्लेख गर्दै उहाँले यसले व्यवसायमा गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महासंघका अध्यक्ष श्रेष्ठले बढ्दो मूल्यबृद्धिका कारण व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै ग्राहकसँग सहकार्य गर्दै समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै, व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धता, व्यवसायको ग्रेडिङ प्रणाली र सीप प्रमाणपत्रलाई प्राथमिकता दिने योजना रहेको जानकारी दिनुभयो ।
सामूहिक खरिद प्रणालीमार्फत लागत घटाउने र व्यवसायलाई प्रतिस्पर्धी बनाउने विषयमा पनि महासंघले पहल गरिरहेको बताउँदै आगामी दिनमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
दिनभर चलेका गतिविधिहरूले कबवल मनोरञ्जन मात्र प्रदान गरेनन्, व्यवसायीहरूबीच आपसी सम्बन्ध, सहकार्य र साझा उद्देश्यलाई अझ सुदृढ बनाउने वातावरण सिर्जना गरेको महासंघका महासचिव विवेकदाश श्रेष्ठले बताउनुभयो । वर्षौंदेखि प्रतिस्पर्धामा रहेका व्यवसायीहरूबीचको सम्बन्ध कार्यक्रममा अझ नजिकिएको अनुभूति गरिएको महासंघका महासचिव श्रेष्ठले बताउनुभयो ।
महासंघका उपाध्यक्ष एवं वनभोज कार्यक्रम संयोजक सुदन विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव श्रेष्ठले सञ्चालन गनुभएको थियो ।