एमाले महासचिव पोखरेल भन्छन्–नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय हो

.

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय भएको टिप्पणी गर्नुभएको छ ।
३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नेतृत्वका लागि वैचारिक, राजनीतिक र संगठनात्मक विश्वास मुख्य आधार हुने बताउनु भयो ।  पछिल्लो समय पार्टीभित्रै पार्टी र नीतिमाथि प्रश्न उठिरहेको बेला महासचिव पोखरेलले यस्तो अभिव्यक्ति दिनभएको हो । उहाँले युवापुस्ताले पार्टी नेतृत्वसँग जिम्मेवारी र अवसरको माग गर्नु स्वाभाविक र जायज भएको पनि बताउनु भयो । तर आन्दोलनको समग्र नेतृत्व गर्नसक्ने क्षमता, संगठनात्मक दक्षता र व्यापक विश्वास निर्माण गर्न सके मात्र नेतृत्व विकास हुने उहाँको भनाइ छ । उहाँले पछिल्लो समय समाजमा मपुरानाले गरेनन् भन्ने भष्य निर्माण गरिएको भन्दै त्यसबाट प्रभावित हुन समेत पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेतृत्वको प्रश्न स्वभाविक रुपमा अपेक्षाको कुरा मात्र होइन, नेतृत्व भनेको विश्वासको कुरा पनि हो । जबसम्म बहुसंख्यक मान्छेको विश्वास जित्न सक्दैन तबसम्म नेतृत्व हुन सक्दैन । त्यसकारण नेतृत्वको प्रश्न के हो त ? भन्दा वैचारिक, राजनीतिक हिसाबले पार्टीका बहुसंख्यक सदस्यहरुको विश्वास जित्ने कुरा हो । विश्वास जित्नसक्दा खेरी जुनसुकै उमेरको पनि नेता बन्न सक्छ । समयको परिस्थितिअनुसार युवाहरुले जुन हिसाबले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने माग राख्नुभयो त्यो जायज छ । तर त्यसको एउटै अर्थ हो वैचारिक राजनीति र संगठनात्मक रुपमा आन्दोलनको समग्र नेतृत्व गर्ने क्षमता र विश्वास युवापंक्तीभित्र विश्वास दगर्न सक्नुपर्दछ । त्यसले नै नेतृत्व विकास गर्नुपर्दछ भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ । यो मनोगत आग्रहको विषय मात्रै बन्नु हुँदैन । अहिले पुरानाले गरेनन् नयाँले गर्छ भन्ने भाष्य निर्माण गरियो । त्यसले हामी प्रभावित भइरहेका छौँ । वास्तवमा समाजको विकासको प्रश्न एउटा पुस्ताको पश््रन मात्रै होइन ।’
समाजको विकास केवल एउटा पुस्ताको प्रश्न नभई समग्र राजनीतिक दृष्टि र नेतृत्व क्षमतासँग सम्बन्धित विषय भएको उहाँको धारणा छ । –न्युज एजेन्सी नेपाल