प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आदिवासी, जनजातिहरुको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढंगले सम्बोधन हुने गरी पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
आईतवार पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरुले बुझाएको अडान पत्र ग्रहण गर्दै पार्टीकी उपसभापति पुष्पा भुसालले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले नेपालको संविधानले नै आदिवासी जनजातिहरुको प्रतिनिधित्व सवाललाई सुनिश्चित गरेकाले उनीहरुले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्वको लागि पनि काँग्रेसले संसदभित्र र बाहिर पनि पहल गर्ने बताउनु भयो । उपसभापति भुसालले काँग्रेसले संविधान संशोधनबारे स्पष्ट दृष्टिकोण बनाउन गइरहेको उल्लेख गर्दै त्यसमा आदिवासी जनजातिहरुको अधिकारको सवाललाई गम्भिरतापूर्वक अघि बढाउने आश्वासनसमेत दिनुभयो ।
उहाँले भन्नुभयो,‘नेपालको संविधानले समानुपातिक समावशितालाई, विविधताको सिद्धान्तलाई प्राथमिकतामा राखेर संंविधानको मूल आधार पनि बनाएको हो । यसकारण राज्यको स्वरुप, हाम्रो समाजको वनावट हेर्ने हो भने आदिवासी जनजातिलाई बाहिर राख्ने हो भने हाम्रो राज्यको स्वरुप, बनावटको परिभाषानै अधुरो हुन्छ । यसकारण पनि मलाई लाग्छ–नेपाली काँग्रेसले आदिवासी जनजातिहरुको जति पनि मागहरु यहाँ राखिएको छ । हामीलाई चाहीँ के भन्न चाहन्छौँ भने काँग्रेस यो विषयमा अति संवेदनशील छ । यो विषयलाई प्राथमिकतामा पनि राखेको छ । किनभने आदिवासी जनजातिहरुको प्रतिनिधित्वको कुरा मात्रै होइन, नेतृत्वलाई स्विकार गर्ने कुरा कार्यान्वयनको बाटोमा नेपाली काँग्रेस अगाडि बढ्छ । हाम्रो पार्टी संसदीय दलका नेता प्रमुख प्रतिपक्ष दलको नेताले सदन भित्र यसलाई दम्दार ढंगले अघि बढाउनु हुन्छ । यो मुद्दालाई संविधान संशोधनको विषयमा आफ्नो दृष्टिकोण तयार गर्दैछ । किनभने दश वर्ष भइसक्यो । यसको कार्यान्वयनको चरणमा देखिएका समस्या, अभिभारा र गर्नुपर्ने सुधारका विषयवस्तुहरुमा नेपाली काँग्रेसले आफनो स्पष्ट दृष्टिकोण बनाउन गईराखेको छ । र यो विषयलाई काँग्रेसले प्राथमिकताको विषयमा राखेर अघि बढाउँछ । आदिवासी जनजातिहरुको पार्टी भित्र र सरकारमा पनि प्रतिनिधित्व र नेतृत्वका लागि आवश्यक पहल गर्छ ।’
उक्त अवसरमा महासंघका महासचिव विमल सारुमगरले आदिवासी जनजातिहरुको मुद्दालाई गम्भिरतापूर्वक अघि बढाउनका लागि राजनीतिक दल र सरकारलाई आफूहरुको अडान र माग राखिएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल