अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै नेपाल बुद्धिचाल महासंघभित्रको विवाद चर्किएको छ ।
काठमाडौंमा मंगलवार आयोजित पत्रकार सम्मेलनमार्फत महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राईको नेतृत्वमा रहेको विद्रोही समूहले महासंघका अध्यक्ष महर्जन र महासचिव धरमबहादुर अविश्वास प्रश्ताव दर्ता गराएको जानकारी दिएको कछ । विधानअनुसार साधारण सभाका कुल संख्याको एक चौथाई (३० जना) ले महासंघका अध्यक्ष र महासचिवविरूद्ध अविश्वास प्रस्तान ल्याउन पाउने व्यवस्था छ । तर महासंघको ११८ जनाको साधारण सभा सदस्यमध्ये ४२ जनाले अध्यक्ष र महासचिवविरूद्ध अविश्वास दर्ता गराएका हुन् । सोही प्रावधानअनुसार २०८२ असोज १२ गते पहिलोपटक प्रश्ताव दर्ता गरिएको थियो । तर अध्यक्ष र महासचिवले खेलाडीको माग र आन्दोलनलाई सम्बोधन गर्ने लगायत प्रतिवद्धता गरेपछि त्यस प्रस्ताव अगाडि नबढेको महासंघका उपाध्यक्ष धनबहादुर बोगटीले बताए । यद्यपि अध्यक्ष र महासचिवले लगातार अनियमितता, अपारदर्सिता र विधानविपरीत काम गर्न थालेपछि फेरि अविश्वास ल्याएको कार्यसमितिले जनाएको छ । वैशाख ११ गते पुनः दर्ता गरिएको बताइएको छ । हालसम्म ४२ जनाले अविश्वास प्रस्तावमा समर्थन जनाएको दाबी गरिएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राईसहित उपाध्यक्ष धनबहादुर बोगटी, उपमहासचिव मोनिलिसा खुम्बु, कोषाध्यक्ष ताराबहादुर रानाभाट, सदस्य बबिदेवल पुनले असन्तुष्टि जनाउँदै कार्यसमितिमा ‘नोट अफ डिसेन्ट’ राख्दै आएको बताइएको छ । उक्त कार्यक्रममा नेपालको पहिलो अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजु पनि उपस्थित थिए ।
वरिष्ठ उपाध्यक्ष राई पक्षले महासंघभित्र विभिन्न अनियमितता भएको आरोप लगाएको छ । उनीहरूले नियमित रूपमा बस्नुपर्ने कार्यसमिति बैठक नराखिएको, खेलाडी छनोट प्रक्रियामा अपारदर्शिता रहेको, नक्कली प्रतिवेदन अन्तर्राष्ट्रिय महासंघमा पठाइएको तथा मानव तस्करीजस्ता गम्भीर आरोपसमेत अध्यक्ष र महासचिवमाथि लगाएका छन् ।
अविश्वासबारे यी विषयमा अध्यक्ष र महासचिवलाई जानकारी गराइसकेको तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सम्बन्धित शिक्षा तथा खेलकुद मन्त्रालयमा पनि निवेदन दिइएको जनाइएको छ । तर, विशेष साधारण सभा बोलाउन राखेपले स्वीकृति नदिएको आरोप समूहले लगाएको छ । विद्रोही र वर्तमान नेतृत्व दुवै पक्षले आफूलाई वैधानिक दाबी गर्दै राखेपसमक्ष विशेष साधारण सभा गर्नका लागि स्वीकृति दिन आग्रह गरिरहेका छन् । यसैबीच, १३ जना खेलाडीलाई विदेश पठाउने निर्णय भए पनि भिसा आवेदनमा २६ जनाको नाम समावेश गरिएको पाइएपछि विवाद थप चर्किएको छ । असम्बन्धित व्यक्तिहरूको नाम समावेश हुँदा भिसा अस्वीकृत भएको र त्यसका कारण खेलाडीहरू ओलम्पियाडमा सहभागी हुन नपाएको उनीहरुले आरोप लगाइएको छ ।
विद्रोही समूहले नेतृत्वले अविश्वास प्रश्तावपछि पनि विधानविपरीत काम गरिरहेको आरोप लगाउँदै छिट्टै विशेष साधारण सभा बोलाउन माग गरेको छ । –न्युज एजेन्सी नेपाल