मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यकः विद्या भण्डारी

.

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरि प्रयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
शनिवार आयोजित मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उहाँले मदन भण्डारीका विचारहरु वर्तमान नेपाली राजनितिमा अत्यावश्यक रहेको बताउनुभएको हो । उहाँले भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको बताउनु भयो । छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । उहाँकाअनुसार मदन भण्डारीले स्थापित गर्नुभएको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा राजनीतिक योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पती हुन् । उहाँले विगतका राजनीतिक घटनाक्रम र वैचारिक धाराको अध्ययनले भविष्यको दिशा पहिचान गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो । लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताजस्ता विषय अहिले पुनः राष्ट्रिय बहसको केन्द्रमा रहेको बताउँदै उहाँले मदन भण्डारीले लिएका बाटोमा हिड्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज विश्व समुदाय र नेपाल दुवै जटिल तथा बहुआयामिक चुनौतीको सामना गरिरहेका छन् । लोकतन्त्र प्रतिको आस्था, राजनीतिक नैतिकता, सार्वजनिक उत्तरदायित्व र जवाफदेहिता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू पुनः राष्ट्रिय बहसका प्रमुख विषय बनेका छन् । यस्तो अवस्थामा जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समय अनुकूल तिनको थप विकास र प्रयोग गर्नु पनि युवा पुस्ताको महत्वपूर्ण दायित्व हुन आउँछ । लामो समय भूमिगत राजनीतिमा सक्रिय रहनुभएका जननेता मदन भण्डारीको खुला राजनीतिक जीवन अपेक्षाकृत छोटो रहे पनि उहाँले छोड्नुभएको वैचारिक प्रभाव र राजनीतिक योगदान दीर्घकालीन तथा प्रभावकारी रहिआएको छ । उहाँले देखाउनुभएको बाटो, स्थापित गर्नुभएको वैचारिक आधार तथा लोकतान्त्रिक संस्कृति प्रतिको अटल प्रतिबद्धता नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्तिका रूपमा रहेका छन् ।’
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरुलाई सूचना तथा सञ्चार प्रविधिको तिब्र विकास भएकोले आधुनिक प्रविधिको अधिकतम उपयोग गर्न सुझाव दिनुभयो । उहाँले कृत्रिम बुद्धिमत्ता (एआई) लगायत विज्ञान र प्रविधिका नयाँ उपलब्धिहरूलाई सकारात्मक तथा रचनात्मक ढंगले आत्मसात गर्दै दक्षता हासिल गर्नु आजको पुस्ताको प्रमुख दायित्व भएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल