पाल्पाको रामपुर नगरपालिकामा निर्वाचित नगर प्रमुख रमण बहादुर थापाले नगर र नगरबासीको समृद्धिको लागि विषेश योजना अनुसार अगाडी बढ्ने बताउनु भएको छ । दोस्रो कार्यकालको लागि निर्वाचित भए संगै थापाले पदभार ग्रहण पश्चात शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वर्षे कार्यकाल संक्रमणमा विच केही योजना अघि बढाएर वितेको भन्दै अब योजना बद्ध रुपमा विकासमा केन्द्रित हुने प्रतिवद्धता जनाउनुभयो ।
सीताकुण्ड मिडिया प्रा.लि.को आयोजनामा भएको पत्रकार भेटघाटमा आफ्नो आगामी योजना बारे जनाकारी दिदै अब विकासको लागि बाहाना गर्न छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तह संरचनाको सुरुवातमा भएकाले यस अघि कर्मचारीको अभाव, कानुन निर्माणमा अलमल तथा कोरोना महामारीकाका विच यस अघिको कार्यकाल वित्यो । अब हामीलाई विकासका लागि बाहाना बनाउने छुट छैन । त्यसैले निर्वाचन अघिको घोषणा अनुसार विशेष योजना सहित अघि बढ्ने छु ।’ थापाले यस अघि संक्रमणकालीन अवस्थामा पनि खरको छाना रहित नगर, ढल रहितको शहर, उज्यालो नगर, युवा स्वरोजगार अन्तर्गत व्याज अनुदान, गौशाला निर्माण, शीतभण्डार लगाएतका अनुकरणीय कार्यलाई अघि बढाएको स्मरण गर्दै विगतका राम्रा कार्यक्रम संगै अन्य योजनालाई अघि बढाउने जानकारी दिनुभयो ।
थापाले गाउँ र फाँट क्षेत्रलाई जोड्ने गरी रिङ्गरोडको निर्माण, कालीगण्डकी नदी किनारका धार्मिक स्थल संग जोड्ने पैदलमार्ग निर्माण, वडा कार्यालय, स्वस्थ्य संस्था तथा मुख्य विद्यालयहरु सम्म पुग्ने सडक धुलो रहित बनाउन पिच गर्ने, एक घर एकधारा कार्यक्रमलाई पूर्णता दिने, लिफ्टीङ्ग सिंचाई आयोजना सञ्चालन गर्ने, कालीगण्डकीमा जलयात्रा सुचारु गर्ने लगाएतका योजना अघि सार्ने बताउनुभयो । साथै रोजगार सृजनाको लागि उद्योग स्थापना गर्न प्रोत्साहनका योजना ल्याउने, २० लाख सम्म व्याज अनुदान दिदै आएको ३० लाख पु¥याउने, साना व्यवसायीक कृषकहरुलाई लक्ष्यित गरी कृषक कार्ड वितरण गर्नुका साथै ३० हजार देखि ५ लाख सम्म विनाधितो ऋणको व्यवस्था गर्ने, नगर भित्रका श्रमिकहरुको लागि अनिवार्य विमा लागु गर्ने, मजदुरहरुको व्यवस्थापनको लागि मजदुर गृह निर्माण गर्ने, मजदुरहरुको ज्यालामा एकरुपता ल्याउने, जेष्ठ नागरिकहरुको लागि जेष्ठ नागरिक स्याहार केन्द्र सञ्चालन, निशुल्क धार्मिक भ्रमण गराउने, सामाजिक सुरक्षा भत्ता लिन बैंक सम्म आउन समस्या भएकाले बैंक सम्म आउनको लागि जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरुलाई निशुल्क यातायातको व्यवस्था गर्ने योजना ल्याउने बताउनुभयो ।
साथै थापाले शहरलाई व्यवस्थित बनाउन यस अघि पनि सडक निर्माणको मापदण्ड लागु गरिएको र अब हाउजिङ्ग निर्माणमा जोड दिने, घरहरुको डिजाईन र रंगमा एकरुपत ल्याउनुका साथै एक वडा एक कलरको कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धनका लागि कालीनदीमा जलयात्रा सुरु गर्ने, खैरेनी वनमा गिद्ध संरक्षणका लागि गिद्धरेष्टुरेण्ट स्थापना गर्ने, फोहोर व्यवस्थापनको योजना पाईपलाईनमा रहेको र दिर्घकालिन व्यवस्थापन गर्ने, बजार क्षेत्रको सडकलाई सुन्दरता प्रदान गर्ने इट्टा तथा टायल राख्ने, गौरीघाट देखि विजयपुर सम्मको सडकलाई फुलैफुलको सडकको रुपमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । साथै उहाँले रामपुर अस्पताल संगै नगरका स्वास्थ्य संस्थाहरुमा डाईलोसिस सेवा सुचारु गर्ने योजना रहेको उल्लेख गर्नुभयो । नगर भित्र दक्ष जनशक्ति तयार गर्न उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई ५ वर्ष नगरमा सेवा गर्ने सम्झौतामा प्राविधिक विषय र एमविविएस अध्ययन गर्ने विद्यार्थीहरुको शुल्कमा २५ प्रतिशत नगरले बेहोर्ने जानकारी गराउनुभयो । विपन्न परिवारका विद्यार्थीहरुलाई निशुल्क शिक्षाको प्रबन्ध मिलाउने बताउनुभयो ।
नगरमा शान्ति सुरक्षा कायम गर्न बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्नुका साथै सुचना मैत्रीनगरका लागि सार्वजनिक स्थानमा वाईफाई फ्री गरिने बताउनुभयो । पदमा रहे पछि चुनौतिहरु धेरै हुने भन्दै जनताको भावना अनुसार अघि बढ्ने बताउँदै थापाले सकारात्मक रुपमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई अनुरोध गर्नुभयो ।
सुनिल कार्की /पाल्पा