राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । राष्ट्रपति पौडेलले नेपाली जनताले सुशासनसहितको समृद्धि खोजेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको उच्चतम सदुपयोगमार्फत कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रलाई बलियो बनाउनुपर्ने बताउनु भयो । मुलुकमा बलियो जनादेशसहितको सरकार गठन भएको चर्चा गर्दै उहाँले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलतालाई मूल मार्गदर्शनका रूपमा अगाडि बढाएकोमा खुशी व्यक्त गर्नुभयो । शासकीय सुधारका १०० कार्यसूचीको पूर्ण कार्यान्वयन तथा सीमाविहीन अर्थतन्त्र र तौलविहीन व्यापारका लागि गरिएका कानूनी एवं संरचनागत सुधारले जनतामा नयाँ आशा जागृत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा नहुने प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज नागरिकले सुशासन सहितको समृद्धि खोजेका छन् । यसका लागि हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ । अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जा लगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ । अनि मात्र आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ । यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो । यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौँ । मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको छ । यसले जनताको चाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको छ । शासकीय सुधारका १०० कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमा रहित अर्थतन्त्र, तौल रहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने मैले विश्वास लिएको छु । हामी सबैले बुझ्नुपर्छ राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षा पूरा हुँदैनन् । यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउनु पर्दछ । न आवश्यक हुन्छ । अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन । म आशा गर्छु गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा र मूल्य मान्यतामा एवम् आचरणमा परिवर्तन सहित एकतावद्ध भएर लाग्ने छौं । गणतन्त्र फगत एक व्यवस्था होइन, यो आचरणशील राजनीति, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो । यसका आफ्नै मूल्य मान्यता र नैतिक दायराहरू हुन्छन् । यसलाई बिर्सेर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौं ।’
गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ सुदृढ तुल्याउन सबै राजनीतिक दल तथा सरोकारवालाहरूलाई उच्च राजनीतिक निष्ठा र आचरणसहित एकतावद्ध भएर लाग्न राष्ट्रपति पौडेलले आह्वान गर्नुभयो । उहाँले व्यवहारमा परिवर्तन नआएसम्म राजनीतिक परिवर्तनको औचित्य पुष्टि नहुने समेत जिकिर गर्नुभयो । –न्युज एजेन्सी नेपाल