अनर मोबाइलको आधिकारिक विक्रेता सेल्ट्रोन नेपाल प्राइभेट लिमिटेडले नेपाली बजारमा ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ।
कम्पनीले एक कार्यक्रमका बीच ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ बजारमा ल्याएको जानकारी दिएको हो । नयाँ सार्वजनिक फोनहरूको प्रमुख विशेषताका रूपमा ‘एआई इमेज–टु–भिडियो’ फिचरलाई अघि सारिएको छ । यस प्रविधिमार्फत प्रयोगकर्ताले स्थिर तस्बिरलाई सजिलै भिडियोमा रूपान्तरण गर्न सक्नेछन् । बजारका अन्य स्मार्टफोनहरूमा यस्तो सुविधाका लागि शुल्क तिर्नुपर्ने अवस्था रहे पनि अनरले यो सुविधा निःशुल्क उपलब्ध गराएको सेल्ट्रोन नेपालकी मार्केटिङ म्यानेजर आस्था जोशीले जानकारी दिनुभयो ।
अनर ६०० प्रोमा २०० मेगापिक्सेलको शक्तिशाली क्यामेरा जडान गरिएको छ, जसले उत्कृष्ट रात्रिकालीन फोटोग्राफी (नाइट फोटोग्राफी) सुनिश्चित गर्दछ । फोनमा ७००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले एक पटकको पूर्ण चार्जमा सामान्य प्रयोगकर्तालाई दुईदेखि तीन दिनसम्म साथ दिने दाबी गरिएको छ । उच्च कार्यक्षमताका कारण यो फोन प्रयोग गर्दा ‘ल्याग’ नहुने र प्रयोगकर्ताले सहज अनुभव प्राप्त गर्ने कम्पनीको भनाइ छ । नेपाली बजारमा अनर ६०० प्रोको मूल्य १ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले यस फोनका विशेषताहरू तुलनात्मक रूपमा अन्य महँगा स्मार्टफोनको दाँजोमा उत्कृष्ट रहेको दाबी गरेको छ । नयाँ सिरिजको सार्वजनिकसँगै कम्पनीले उपभोक्ताहरूका लागि विशेष उपहार योजना पनि ल्याएको छ । अनर ६०० को खरिदमा ग्राहकले १६ हजार रुपैयाँ बराबरको स्मार्ट घडी र ‘ई–फिक्स’ प्रोटेक्सन (सर्भिस अफर) प्राप्त गर्नेछन् । त्यस्तै अनर ६०० प्रोको खरिदमा १६ हजार मूल्यको घडीका साथै ११ हजार रुपैयाँ बराबरको ‘एयर क्लिप’ र ई–फिक्स प्रोटेक्सन उपलब्ध गराइनेछ ।
ग्राहकको सहजताका लागि कम्पनीले किस्ताबन्दी (ईएमआई) सुविधाको समेत व्यवस्था गरेको छ । यसका लागि एनआइसी एशिया बैंक र माछापुच्छ्रे बैंकसँग सहकार्य गरिएको छ । शुन्य प्रतिशत ब्याजदरमा उपलब्ध हुने यस सुविधा अन्तर्गत ग्राहकले निश्चित प्रतिशत ‘डाउन पेमेन्ट’ गरेर फोन खरिद गर्न सक्नेछन् । नयाँ प्रविधि र आकर्षक इकोसिस्टमसहित बजारमा आएको अनर ६०० सिरिजले नेपाली उपभोक्ताको मन जित्नेमा कम्पनी विश्वस्त देखिएको छ । –न्युज एजेन्सी नेपाल