सेनामाथी राजेन्द्र पाण्डेको टिप्पणी– ‘परमाधिपति बस्ने स्थान सुरक्षित राख्न नसक्नेले देशको सुरक्षा दिने विश्वास गर्नुपरेको छ’

.

नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेपाली सेना लगायत सुरक्षा निकायको आलोचना गर्नुभएको छ ।
काठमाडौं आयोजित एक कार्यक्रममा उहाँले परमाधिपति बस्ने स्थान सुरक्षित राख्न नसक्ने सुरक्षा निकायले देशको सुरक्षा दिने विश्वास गर्नुपरेको टीप्पणी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनमा भएका घटनाहरुको स्मरण गर्नुहुँदै त्यस अवधिमा देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउनुभएको हो । जेन–जी आन्दोलनमा सुरक्षा निकायहरुले सिंहदरबार, सर्वोच्च अदालत र सेनाको परमाधिपति बस्ने स्थानसमेत सुरक्षित राख्न नसकेको बताउनु भयो । त्यही सुरक्षामाथि निर्भर भएर देश अगाडि बढ्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । उहाँले जेन–जी आन्दोलन पनि सुरुआत गर्ने समूहको नियन्त्रणबाट बाहिर गएको बताउनु भयो । आन्दोलन सुरु गर्ने युवाहरूले नै आन्दोलन आफ्नो नियन्त्रणमा नरहेको स्वीकार गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘यो जेन–जी विद्रोह हामी भन्ने गर्छौ, त्यो विद्रोह गर्ने युवा पुस्ताले हाम्रो हातबाट त १२ बजेबाटै हाइज्याक गरियो, आन्दोलन भन्छन् । उनीहरूका नेताहरूले भन्या छन्, हाम्रो हातमा थिएन, त्यो आन्दोलन । हामीले त सुरु मात्रै गरेका थियौँ । हामीले जम्माजम्मी दुई तीनटा कुरा मात्रै उठाएका थियौँ । एउटा व्यथितिपूर्ण शासन भयो, अर्को सामाजिक सञ्जालको बन्द भयो, भ्रष्टाचार बढ्यो । यिनै कुराहरू उठाएका थियौं । हामीले आन्दोलन सुरु गर्ने वित्तिकै हाम्रो हातबाट खोसियो, तोडफोड भयो, आगलागी भयो, सरकारले मान्छे मार्ने स्थिति बन्यो र यो स्थिति भयो । त्यो २३ गतेको १–२ बजेपछिका घटनाहरू र अनि २४ गतेको दिनभरिका घटना एकचोटी सम्झौंत र हाम्रो देशको स्थिति के भयो । त्यस्तो शक्ति त्यस्तो सुरक्षा अङ्ग जसले हाम्रो सिंहदरवार बचाउन सकेन, जसले हाम्रो सर्वोच्च अदालत बचाउन सकेन, जसले सेनाको परमाधिपति बस्ने ठाउँ बचाउन सकेन । त्यो सुरक्षा अङ्ग त्यसै माथि निर्भर रहेर हाम्रो देश बाँच्छ भनेर हामी हिड्नु परेको छ ।’
उहाँले वर्तमान स्थितिमा नेपालमा कम्युनिष्टहरु एकतावद्ध हुन आवश्यक रहेको पनि बताउनुभयो । राष्ट्र संकटमा रहेको उल्लेख गर्दै उहाँले राष्ट्रियता जोगाउन कम्युनिष्ट एकता अपरिहार्य रहेको दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल