वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सुकुम्बासी आन्दोलित

.

होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै सुकुम्बासीहरूले शुक्रवार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानका बस्ती विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकको उचित पुनःस्थापना नगरी सेन्टर छाड्न निर्देशन दिइएको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केदार खतिवडाले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गरेपनि वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हट्न सूचना जारी गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सुकुम्बासी नागरिकको उचित वैकल्पिक व्यवस्थापन नगरी लखेट्ने सरकारको कार्य स्वीकार्य नहुने चेतावनी दिनुभयो । उहाँले सुकुम्बासी, भूमिहीन र गरिब नागरिकमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप पनि लगाउनु भयो । खतिवडाले सुकुम्बासीहरूको समस्या केवल उनीहरूको मात्र नभई समग्र समाजको सरोकारको विषय भएको उल्लेख गर्दै मध्यमवर्ग, बुद्धिजीवी, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई पनि यस विषयमा आवाज उठाउन आग्रह गर्नुभयो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार सूचना जारी गर्दै १९ असारसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ । गत वैशाखमा उपत्यकाभित्रका नदीकिनारका सुकुम्बासी बस्ती हटाएसँगै उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको थियो ।
उहाँले भन्नुभयो, ‘सुकुम्बानासी बस्तीमाथि डोजर लगाएर त्यहाँबाट होल्डिङ सेन्टरको नाममा जसरी लगियो र होल्डिङ सेन्टरमा लगेर पनि त्यसको वैकल्पिक व्यवस्था नगरिकन जनतालाई सुकुम्बासीहरूलाई त्यहाँबाट जसरी विस्थापन गर्नको निम्ति सूचना जारी गरिराखेको छ त्यसका विरुद्धमा हामी यो सशक्त संघर्षको रूपमा यहाँ खबरदारी गर्न आएका हौँ । सरकारले जुन ढंगले सुकुम्बासीहरू, गरिब भूमिहीनमाथि जसरी डोजर लगायो, त्यसको विरुद्धमा साच्चै यहाँका मध्यमवर्ग, यहाँका बुद्धिजिवीहरू, यहाँका पत्रकारहरू र यहाँका राजनीतिक पार्टीहरू बोलिराखेका छैनन् । समाजका हरेक वर्गलाई यस विषयमा सचेत गराउनको लागि पनि हामी यहाँ आएका हौँ । यो देश गरिब र निमुखा नागरिकले नै बनाएका हुन् । यदि काठमाडौंमा सुकुम्बासीहरु हुँदैन्थे भने हामी काठमाडौंको महलमा बसेर यसरी भाषण गर्ने कन्डिसन हुँदैन्थ्यो ।’
प्रदर्शनकारीहरुले सरकारविरुद्धका नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् । –न्युज एजेन्सी नेपाल