नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक सातायता काठमाडौंमा सरकारको उपस्थिति नदेखिएको भन्दे आपत्ति जनाउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले देशको राजधानी काठमाडौंबाट चितवन सरेजस्तो अनुभुति भएको टिप्पणी पनि गर्नुभयो । यही असार ७ गतेदेखि सत्तत्रारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ । उहाँले रास्वपा महाधिवेशनको कारण संघीय संसद र सरकारका काम कारबाही समेत प्रभावित हुन पुगेको बताउनु भयो । उहाँले सरकार चितवनतर्फका कार्यक्रममा व्यस्त रहँदा आफू भने अधिकारबाट वञ्चित र अन्यायमा परेको गुनासो गर्दै आन्दोलनरत नागरिकलाई भेट्न माईतीघर पुगेको बताउनु भयो । उहाँले कक्षा १२ को नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप पनि लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय अध्यक्षज्यू अघिल्लो एकहप्तादेखि काठमाडौं यस्तो लाग्न थाल्यो कि काठमाडौंमा सरकार छैन । काठमाडौं देशको राजधानी हो । तर देशको राजधानी काठमाडौंबाट सरेर चितवन गएको जस्तो देखियो । सरकारका कोही पनि प्रतिनिधि काठमाडौंमा नभेटएिको र त्यसको प्रत्यक्ष प्रभाव संसददेखि लिएर सरकारका अन्य कयौँ कामकारबाहीहरुमा परेको देखियो । सरकार चितवनतिर आफ्नो काम कारबाहीमा व्यस्त रहँदा म भने सरकारका कामकारबाहीमा चित्त नबुझाएर, आफ्नो अधिकार नपाएर अन्यायमा परेका केही नागरिकलाई भेट्न माइतिघर पुगेको थिएँ । सम्माननीय अध्यक्ष महोदय माइतिघरमा कक्षा १२ को नतिजा प्रकाशनका बखत अन्यायमा परेका विद्यार्थी आन्दोलनमा बसेका छन् । मलाई अचम्म लागेको छ, यो सरकारका मन्त्रीहरु जेनजी मूभमेन्ट हुँदा आन्दोलनको कुन फ्रन्टमा थिएँ ।’
अन्यायमा परेका विद्यार्थीसँगै आन्दोलनरत सबै नागरिकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । –न्युज एजेन्सी नेपाल