प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताउनुभएको छ ।
६८ औं संसद दिवसको अवसरमा मङ्गलवार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै नेता आङदेम्बेले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई सङ्कटमा पार्न नहुनेमा जोड दिनुभएको हो । नेता आङदेम्बेले नेतृत्वको आफ्नै अकर्मण्यता र सोचको अपरिपक्वताका कारण शासकीय स्वरूपमाथि प्रश्न उठाउन थालिएको टिप्पणी गर्नुभयो । सात प्रदेश र तीन तहको स्थानीय सरकारसहितको वर्तमान शासकीय ढाँचा नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै उहाँले यसलाई कुनैपनि लहर, आवेग वा उत्तेजनाका भरमा अनिर्णयको बन्दी बनाउन नहुने बताउनु भयो । ऐतिहासिक निष्कर्षका रूपमा रहेको वर्तमान व्यवस्थाप्रति संशय पैदा गर्नु गलत भएको उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘आज हामी त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने ठाउँतर्फ फर्किएर गएको जस्तो अनुभूति गरिरहेका छौँ । त्यो राम्रो कुरा होइन । शासकीय स्वरूपलाई हाम्रो अकर्मण्यता, हाम्रो सोचको अपरिपक्वता र हाम्रो कमजोरीको दोष थोपर्न थाल्यौँ । त्यसलाई नबुझीकन, अभ्यास नै नगरिकन त्यसप्रति प्रश्न उठाउन थाल्यौँ। त्यो राम्रो कुरा हुँदैन । त्यसैले आज हामीहरूले जनतालाई यसको वास्तविक अनुभूति गराउने ठाउँमा पु¥याउनका निम्ति, जसरी शासकीय स्वरूपअन्तर्गत सातवटा प्रदेशको परिकल्पना गरेका छौँ र तीन तहको सरकारको संरचना परिकल्पना गरेका छौँ, त्यसमा कुनै लहर, आवेग वा उत्तेजनाले प्रभाव पार्नु हुँदैन। जनताको रगत र बलिदानबाट प्राप्त भएको यो ऐतिहासिक निष्कर्षलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । यसप्रति कुनै प्रश्नचिह्न उठाउनु हुँदैन ।’
नेता आङदेम्बेले संसद दिवसलाई केवल औपचारिक उत्सवका रूपमा मात्र नमनाई यसलाई देश र जनताप्रतिको दृढ प्रतिवद्धतामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उक्त प्रतिवद्धतालाई ठोस अठोट र सङ्कल्पमा बदल्नुपर्ने भन्दै उहाँले सोहीअनुसार अघि बढ्न सबै पक्षलाई आह्वान समेत गर्नुभयो ।–न्युज एजेन्सी नेपाल